विभिन्न बहानामा लाखौं रुपियाँ लिँदै मेडिकल कलेज

0
Shares

विजय नेपाली, पोखरा
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा बीएनएस पढ्ने विद्यार्थीका लागि ५ लाख २ हजार ५ सय ६२ रुपियाँ शुल्क तोकिएको छ। जसअनुसार पहिलो किस्तामा ५० प्रतिशत, दोस्रो र तेस्रो किस्तामा २५–२५ प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ।

गण्डकी मेडिकल कलेज पोखरामा बीएनएस दोस्रो वर्षमा अध्यनरत रविना मिश्रले पहिलो वर्षमा सोहीअनुसार २ लाख ५१ हजार २ सय ८१ रुपियाँ प्रभु बैंकमार्फत मेडिकल कलेजमा गत वर्ष बुझाइन्। घरमा पुगेपछि उनलाई कलेजबाट फोन आयो। थप ७५ हजार रुपियाँ तिर्नुपर्ने खबर आयो। भोलिपल्ट खोजखाज गरेर उक्त रकम पनि उनले जम्मा गरिन्। पछि मात्र उनलाई थाहा भयो बैंकमा जम्मा गरिए भन्दा धेरै पैसा तिर्नु नपर्ने नियम चिकित्साशास्त्र अध्ययन संस्थानले बनाएको रहेछ। ‘मलाई भर्ना गर्नेबित्तिकै थाहा भएन, हामीले बैंकबाट पैसा तिरेपछि अरू तिर्नुपर्ने रहेनछ’ –मिश्रले बताइन्।

चिकित्सा शास्त्र अध्ययन संस्थानले काठमाडौं बाहिर एमबीबीएस पढ्ने विद्यार्थीका लागि ४२ लाख ४५ हजार रुपियाँ शुल्क तोकेको छ। जसअनुसार पहिलो

किस्तामा ५० प्रतिशत, दोस्रो र तेस्रो किस्तामा २५–२५ प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ। जीएमसीमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी परिवर्तन भाट सोहीअनुसार नै पहिलो किस्ता तिरेको बताउँछन्। उनले पहिलो किस्ताबापतको रकम तिर, तर उनीसँग कलेजले थप १ लाख ५० हजार रुपियाँ माग्यो र त्यहीअनुसार रकम बुझाए। परीक्षा नजिकिएका बेला विद्यार्थीलाई अनावश्यक दबाब दिएर मनोवैज्ञानिकरूपमा प्रभाव पारिरहेको आरोप उनको छ। उनले भने– ‘कक्षाकोठामा क्षमताभन्दा बढी विद्यार्थी कोचेर राख्छन्, थप पैसा केका लागि हो भनेर सोध्दा झर्केर परीक्षा फारम रोकिदिने धम्की दिन्छन्।’ शुल्क बुझाउन ढिला भए १८ प्रतिशत ब्याज जोडेर कलेजले असुल गर्दै आएको विद्यार्थीको गुनासो छ। संस्थानले तोकेबाहेक कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने नियम छ।

तर विद्यार्थीपिच्छे नियम बनाएर रकम असुल भइरहेको विद्यार्थीको आरोप छ। ‘सरकाले तोकेभन्दा धेरै पैसा नलिनुस् भन्ने हाम्रो माग हो’, भाटले भने– ‘गण्डकी मेडिकल कलेजमा मात्र नभई देशको अन्य कलेजमा यस्तो समस्या छ।’ एमबीबीएस तेस्रो वर्ष अध्ययन गर्दै गरेका भट्ट थर गरेका विद्यार्थीले संस्थानले तोकेको ४२ लाख ५० हजार शुल्कमध्ये पहिलो किस्ता तिरेर पढाइ शुरू गरे। उनले भने– ‘मैले ४२ लाख ५० हजारमा नै पढाइ सक्छु भनेर शुरू गरेको हुँ, अहिले त ५५ लाख ७५ हजार रुपियाँ तिनुपर्ने हिसाब आएको छ।’

अघिल्लो वर्षमा पासआउट भएर गएका विद्यार्थीले पनि ५५ लाख रुपियाँ नै तिरेको उनी बताउँछन्। कलेजले धेरै पैसा लिएको विरोधमा बिहीबारदेखि विद्यार्थीले कक्षा कोठामा तालाबन्दी गरिदिएका छन्। उनीहरूले कलेजको प्रशासनमा समेत ताला लगाएर शुक्रबार पृथ्वीचोकमा प्रदर्शनसमेत गरेका छन्। विद्यार्थीले जिल्ला प्रशासन कार्यालय कास्की, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले कलेजले लिन पाउने शुल्क नै लिएको बताए। ‘हामीले सरकालाई तिर्नुपर्ने भन्दा धेरै पैसा लिएका छैनौं, विद्यार्थीलाई कसैले उचालेको छ’ –उनले भने। होस्टेल चार्ज, रजिस्टे«सन शुल्क, त्रिभुवन विश्वविद्यालयलाई तिनुपर्ने रकम मात्र लिएका अर्यालको भनाइ थियो।