पीडितलाई सरकारको राहत
सलिम अन्सारी, प्युठान
जिल्लाको सरुमारानी गाउँपालिका–६ स्थित भिंग्र्रीखोला टाकुरा गाउँमा शुक्रबार साँझ आगलागी हुँदा १० घरगोठ जलेर ध्वस्त भएको छ।
विद्युत् चुहावट भई आगलागी हुँदा १० घरगोठ सखाप भएको हो। एकै घरका ५ भाइ छुट्टाछुट्टै घर बनाएर बस्दै आएका थिए। आगलागीबाट ३५ लाख बढीको क्षति भएको पीडितहरूले बताए। आगलागीबाट बलबहादुर, जयबहादुर, टंकबहादुर, लक्षीराम र टीकाराम घर्ती मगरको घरगोठ पूर्णरूपमा जलेको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए।
आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा र अन्य सामान जलेका छन्। उपभोग्य वस्तुसमेत नष्ट हुँदा घर्ती परिवारको विचल्ली भएको छ। ठूलो नोक्सानीसँगै घरबास नै उठिबास हुन पुगेको सरुमारानी–६ का वडासदस्य स्थानीय तीलबहादुर बुढाले जानकारी दिए। ‘शरीरमा लगाएको एकसरो कपडाबाहेक उनीहरूको केही बाँकी बचेन’, उनले भने– ‘आगलागीले सबै खरानी बनायो।’
उनका अनुसार पीडित परिवारका तीस जनाभन्दा बढी सदस्य अहिले छिमेकीको घरमा आश्रय लिई बसेका छन्। आगलागीको कहरले आधा दर्जन बालबालिकासमेत प्रभावित भएका छन्। रातको समयमा आगलागी भएका कारण घरभित्र रहेका कुनै पनि सामान निकाल्न नसकिएको स्थानीयले बताएका हुन्।
सबै सम्पत्ति जलेपछि उठिबास लागेका टाकुरा गाउँका अग्निपीडितलाई सरुमारानी गाउँपालिकाले लत्ताकपडासहित ७८ हजारबराबरको राहत प्रदान गरेको छ। गाउँपालिकाले शनिबार घरमै पुगेर उक्त राहत प्रदान गरेको हो। गाउँपालिकाले विपद् व्यवस्थापन समितिअन्तर्गत अग्निपीडितलाई नगद र जिन्सी गरी जनही १५ हजार ६ सयका रुपियाँका दरले राहत प्रदान गरेको हो।
गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले आगलागीपीडितलाई राहत प्रदान गरेको गाउँपालिकाका विपद् व्यवस्थापन समिति संयोजक मोहम्मद हलिमले जानकारी दिए। बस्ने बास र खाने गाँससमेत नरहेपछि घटनालगत्तै पीडित परिवारलाई जिल्ला प्रसासनको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी र प्युठान उद्योग वाणिज्य संघलगायतका संघसंस्थाले खाद्यान्नसहित दैनिक उपोभोग्यका सामान र दैवी प्रकोप उद्धार राहत कोषबाट जनही १० हजार नगद राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।











प्रतिक्रिया