स्वास्थ्य एकाइ सञ्चालनमा कर्मचारी अभाव

0
Shares

बैतडी, (नेस)
कर्मचारीको अभावमा बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेस्थित सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आउन सकेको छैन। वडा नं ८ का ढोले र दोराका स्थानीयबासीलाई नजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरी एको भए पनि कर्मचारीको अभाव भवन प्रयोगविहीन भएको शिखरपुर स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर बोहराले जानकारी दिए।

वडा कार्यालयको गत आर्थिक वर्षको ५ लाखको लागतमा भवन निर्माण गरी एको थियो। गत साउनबाटै कार्यालय सञ्चालन गर्ने भनिए पनि कर्मचारीको अभावमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आउन नसकेको हो। कर्मचारीको व्यवस्थापनका लागि गाउँपालिकालाई आग्रह गरेको, तर अहिलेसम्म सुनुवाइ नभएको स्वास्थ्य चौकीका इन्चार्ज बोहराको भनाइ छ।

२४आंै घन्टा प्रसूति सेवा दिने र अन्य आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरिए पनि सञ्चालनमा नआउँदा स्थानीयबासी दुखी भएका छन्। नजिकै स्वास्थ्य संस्था नहुँदा उनीहरूले ३÷४ घन्टा हिँडेर स्वास्थ्य सेवा लिनुपरिरहेको छ। नजिकै स्वास्थ्य संस्था नहुँदा ढोले र दोराका अधिकांश आमाले घरमै बच्चा जन्माउने गरेको बताइएको छ।

गाउँपालिकाले करारमै भए पनि कर्मचारी भर्ना गरेर सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याउनुपर्ने स्थानीयबासीले माग गरेका छन्। यो विषयमा सुर्नया गाउँपालिका–८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले करारमा कर्मचारी भर्ना गर्ने कार्यविधि पारित भइसकेको र एक महिनाभित्रै कर्मचारीको व्यवस्थापन गर्ने बताए।