कर्णालीको मातृभाषा पाको पुस्तामै सीमित

0
Shares

प्रकाश पन्त, वीरेन्द्रनगर
सुर्खेत वीरेन्द्रनगर–२ का बिर्खलाल राजीको ७ जनाको परिवारमा उनी र उनकी श्रीमती मानकुमारीले मात्र माृतभाषा फानबोली बोल्छन्। छोराबुहारी र नातिनातिना राजीभाषा बोल्दैनन् र बुझ्दैनन् पनि। उनीहरू नेपाली भाषा नै बोल्छन्। राजी अगुवा बिर्खलाल राजी आफ्नो मातृभाषा पाको पुस्तामै सीमित हुन्छ कि भन्ने चिन्तामा छन्।

राजी जातिको मातृभाषा फानबोली मात्र होइन् सुर्खेतका मगर समुदायको मातृभाषा पनि पाका पुस्तामै सीमित देखिन्छ। पाको पुस्ताले बोले पनि युवापुस्ताले चासो नदिँदा मातृभाषा लोप हुँदै गएको वीरेन्द्रनगर–१२ नेवारेका धनबहादुर ढेंगामगर बताउँछन्। ‘उच्चारणमा हुने समस्याले नयाँ पुस्ताले माृतभाषा सिक्न खासै चासो दिँदैनन्’ –उनले भने।

युवा पुस्ताले चासो नदिँदा र पाको पुस्तामै सीमित हुँदा कर्णाली प्रदेशमा बोलिने मातृभाषा संकटमा पर्दै गएको छ। भाषा आयोगका अनुसार कर्णाली प्रदेशमा राजी, मगर, खस, थारु, कुसुण्डालगायत ५५ भाषा बोलिन्छन्। बा≈य संस्कृति र आधुनिकताको बढ्दो प्रभाव तथा संरक्षणको अभावमा मातृभाषा प्रायः मृत अवस्थामा छन्, तर करिब १६ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा कतिपय मातृभाषाका वक्तासमेत पाउन मुस्किल छ।

विद्यालयमा पढाइने शिक्षाको माध्यम, सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग तथा अन्तरजातीय विवाहजस्ता कारणले गर्दा मातृभाषालाई जोगाउन मुस्किल हुन थालेको वीरेन्द्रनगर–१० की थारु समुदायकी अगुवा महिला सुनिता चौधरीले बताइन्। ‘नेपाली भाषाको बढ्दो प्रभावले हाम्रो भाषा दिनप्रतिदिन हाम्रो भाषा लोप हँुदै गएको छ’, उनले भनिन्– ‘मातृभाषा संरक्षण नगर्ने हो भने थारु जात मात्र रहने खतरा छ।’

आफ्नो उद्गमथलो कर्णालीमै खस भाषा लोप हुने अवस्थामा पुगेको छ। कर्णाली प्रदेशमा थोरैले मात्र खस भाषा बोल्छन्। जुम्लाको सिंजाबाट उत्पत्ति भएको खस भाषा नेपाली भाषाको जननी मानिन्छ। भाषा आयोगद्वारा प्रस्तुत एक प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा नेपाली हो। यो प्रदेशमा ५५ भाषा बोलिन्छन्। त्योमध्ये खस भाषा ३३औं स्थानमा पर्छ।

मातृभाषाको संरक्षण गर्न सरकारले मातृभाषामै शिक्षा प्राप्त गर्न सकिने व्यवस्था गरे पनि व्यवहारमा भने त्यो लागू हुन सकेको छैन। मातृभाषी पनि आफ्नो भाषा संरक्षणमा अग्रसर भएको पाइँदैन। यस्तो अवस्थामा लोपोन्मुख अवस्थामा रहेका मातृभाषा जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएका भाषा आयोगका अध्यक्ष डा। लबदेव अवस्थी बताउँछन्। ‘मातृभाषा जोगाउने प्रारम्भिक दायित्व बोकेको स्थानीय सरकारले आवश्यक नीति बनाएर मातृभाषा जोगाउनुपर्छ’, उनले भने– ‘स्थानीय सरकारलाई प्रदेश र केन्द्र सरकारले पनि सघाउनुपर्छ।’

भाषा आयोगका अनुसार कर्णाली प्रदेशका १२ वटा भाषा एक÷एक जनाले मात्र बोल्छन्। राजी भाषा बोल्ने ९ सय ८०, राउटे ९खाम्ची० भाषा बोल्ने ६६, खस भाषा बोल्ने १८ र काइके भाषा बोल्ने १७ जना छन्। कर्णाली प्रदेशमा मगर भाषा ३२ हजार २९, तामाङ भाषा ११ हजार ३ सय २३ र थारु भाषा ६ हजार ६ सय ३ र गुरुङ भाषा ४ हजार १ सय १ जनाले बोल्ने गरेका छन्।

भाषामा संस्कृति, परम्परा र इतिहास हुन्छ। मातृभाषालाई संरक्षण नगर्ने हो भने नेपाली समाजको संस्कृति, परम्परा र इतिहास पनि मेटिएर जाने भएकाले मातृभाषालाई जोगाउन सबै अग्रसर हुनुपर्ने उनीहरूले जोड दिएका छन्।