प्रदेशसभाबाट प्राप्त सुविधाले विपन्नलाई कम्बल

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
शहीद दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुर सभापति एवम् कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कैलाश–४ नम्बर वडाका १ सय ७० चेपाङ परिवारलाई शनिबार न्यानो कपडा ९कम्बल० वितरण गर्नुभएको छ।

जाडोको समयमा चेपाङ परिवार कठ्यांग्र्रिएर बस्न नपरोस् भन्दै नेता बानियाँले धारापानी, गोपेधारी, देउतीस, धुसराङ, कीटराङका चेपाङ परिवारलाई कम्बल वितरण गर्नुभएको हो। नेता बानियाँले प्रदेशसभाबाट प्राप्त सुविधाबाट विभिन्न सामाजिक कार्यमा खर्च गर्ने क्रममा कैलाश गाउँपालिकाको उक्त वडाका गरिब तथा विपन्न चेपाङ परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको हो।

न्यानो कपडा वितरण कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस हेटौंडा उपमहानगर समिति सभापति आनन्दराम पराजुली, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन बिडारी, कांग्रेस कैलाश गाउँपालिका नेता वीरचन्द्र प्रजा, कैलाश गाउँपालिका–४ का सदस्य गंगालाल प्रजा र शिक्षक मनोज प्रजालगायतको उपस्थिति थियो।