मधेसको विकासका लागि सरकारले काम अघि बढाएको छः प्रम ओली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताउनुभएको छ।
शहीद हेमनारायण यादवको १५औं स्मृतिसभालाई शनिबार सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।
प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइए पनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताउनुभएको छ। ‘मधेसका बारेमा अनेक हल्ला चलाइएका छन्, तर सरकारको कामले ती सबै कुराको जवाफ दिन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हुलाकी सडकको निर्माण, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईंकै विकासका लागि सञ्चालन भएका हुन्। केही दिनअघि झापा विमानस्थलमा रात्रिकालीन उडान सेवा शुरू भएको छ। जनकपुरमा केही महिनामा यस्तो सेवा शुरू हुँदैछ।’

प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिँचाइ गर्ने योजनाका काम धमाधम भइरहेको बताउनुभएको छ।

यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरूको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला शुरुआत गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो।

तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘यस जिल्लाबाट निरक्षरता उन्मूलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘त्यसका लागि गत वैशाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु।’

प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ। अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकाले अघिल्लो आर्थिक वर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ। ‘वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेर दिन छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘आउने आर्थिक वर्षमा वृद्धभत्ता अवश्य बढ्छ। सरकारले बढाउनेछ।’

२०६० साल माघ १९ गते तत्कालीन नेकपा ९एमाले० सिराहा जिल्लाका अध्यक्ष एवं सांसद हेमनारायण यादवको धनुषा र सिराहाको सीमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालयको शिलान्यास गर्नुभएको छ। यसैगरी चन्द्र माध्यमिक विद्यालय सिराहा नगरपालिका–१ मा छात्रावास भवनको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको छ।