बाल नाटक महोत्सवका विजयीलाई पुरस्कार

0
Shares

राजधानीमा जारी दशौं राष्ट्रिय बाल नाटक महोत्सव समापन भएको छ। शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र इसानले आयोजना गरेको महोत्सव एक कार्यक्रम गरी समापन गरिएको छ। कार्यक्रममा विभिन्न ६ विधामा उत्कृष्ट हुनेलाई पुरस्कार, शिल्ड र मायाको चिनो प्रदान गरिएको थियो।

महोत्सवमा शैली थिएटर उत्कृष्ट अभिनेता पुरस्कार होलि एन्जल्स स्कुलको प्रस्तुतिमा मञ्चन भएको ठूलो मान्छेका लागि सन्देश गिरी र स्व। रेश्मीप्रसाद सापकोटा, उत्कृष्ट अभिनेता पुरस्कार भक्तपुर निस्ट स्कुलको प्रस्तुतिमा मञ्चन भएको मेनुकाका लागि दिया खड्काले जितेका छन्। दुवै जनाले १० हजार, प्रमाणपत्र र शिल्ड पुरस्कारस्वरूप प्राप्त गरे। त्यसै गरी सुमन कुईंकेल बरालले क्रियटिभ स्कुलको नाटक डम्बरीका लागि स्व। चित्रबहादुर बुढाथोकी उत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गरे भने काठमाडौं विनायक स्कुलको प्रस्तुति रहेको टाईको गाँठोले अन्तोन चेकोभ उत्कृष्ट नाटक पुरस्कार जितेको छ। यो दुवै पुरस्कारको राशि ७ सात हजार, शिल्ड र प्रमाणपत्र रहेको थियो। उत्सव सिग्देलले रिडर्स इन्टरनेसनल मोडेल स्कुलको बलेको सपनाका लागि बाल कोसेली प्रोत्साहन पुरस्कार र भावना मगरले स्व। रामकसर बोगटी पब्लिक च्वाइस पुरस्कार प्राप्त गरे। सिग्देल र मगर दुवैले ५÷५ हजार, प्रमाणपत्र र शिल्ड प्राप्त गरे।

शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकी, इसानका अध्यक्ष बाल मुकुन्द कार्की, अभिनेता रमेश बुढाथोकी, सानु ताम्राकार, पदम सापकोटा, तारा केसी, निर्णायकहरू पुरु लम्साल, स्मृति ढुंगाना, र सरोज अर्यालले विजेतालाई पुरस्कार र सहभागीलाई प्रमाणपत्र प्रदान गरे। नाटकमा सहभागी जनाएका सबै विद्यालयलाई शैलीले मायाको चिनो र प्रमाणपत्र प्रदान गरेको थियो। कार्यक्रममा अभिनेता रमेश बुढाथोकीले नाटक क्षेत्रबाट बालबालिकाले समाजका कुरीतिलाई देखाउन सक्ने भएकाले सरकारले यस क्षेत्रमा ध्यान दिनुपर्ने बताए। निर्णायक साहित्यकार पुरु लम्सालले नाटक महोत्सव गैरसंस्थाले भन्दा पनि सरकारले आयोजना गर्नुपर्ने बताए। निर्णायक टोलीका सरोज अर्यालले उत्कृष्ट नाटक प्रदर्शन गरिएको आधारमा कलाकारहरू छानिएको बताए। ‘हामीले उत्कृष्ट नाटकबाट कलाकारलाई छनोट गरेका छौं’, उनले भने– ‘समाजमा हुने गरेका घटना र समाजले देखाएको कुरा नाटकमा देख्न पायौं। नाटक राम्रो बनाउनका लागि अबको दिनमा निर्देशकले बालबालिकाहरूले भोगेका व्यक्तिगत पीडालाई लिनुपर्छ।’ शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बालबालिकालाई कला र रंगमञ्चमा रमाउने वातावरण तयार पार्न महोत्सव गरिएको बताए। ‘यसपटक बालबालिकाको मनोविज्ञानमा आधारित लोककथाहरू प्रदर्शन गरिएका थिए। अघिल्लो वर्ष २० नाटक प्रर्दशन गर्ने भनेका थियौं। यस वर्ष त्यो प्रतिबद्धता पूरा गरेका छौं’, बुढाथोकीले भने– ‘राष्ट्रिय बाल नाटक महोत्सवलाई विस्तारै अन्तर्राष्ट्रियरूपमा लैजाने तयारीमा छौं।’

महोत्सवमा उत्कृष्ट कलाकार भएका सन्देशले नाटकबाट आफ्नो कलालाई तिर्खान सकिने भएकाले नाटक क्षेत्रमा लागेकोे बताए। ‘आज उत्कृष्ट कलाकारमा छनोट हुँदा धेरै खुसी लागेको छ। मलाई नाटकमा खेल्न धेरै मन पर्छ’, उनले भने– ‘मैले योभन्दा पहिले पनि नाटक प्रदर्शन गरेको छु। पढाइसँगै नाटक क्षेत्रमा लागेर समाजमा घटेको घटनालाई नाटकमार्फत दर्शकलाई देखाउनेछु।’ काठमाडौं महानगरपालिका– ९ का सदस्य श्रीराम राईले नाटकबाट बालबालिकालाई धेरै फाइदा पुग्ने भएकाले यस क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्ने बताए।