एचआईभी संक्रमित खेलाडीलाई सगरमाथा चढाउन कर्णदास सांगीतिक साँझ

0
Shares

एचआईभी संक्रमित पूर्वफुटबल खेलाडी गोपाल श्रेष्ठको सगरमाथा आरोहणलाई सघाउन राजधानीमा कर्णदास सांगीतिक साँझ आयोजना गरिने भएको छ।

गोपाल २५ वर्षदेखि एचआईभीबाट संक्रमित छन्। उनी अहिले विभिन्न संघसंस्थाका साथ एचआईभीसम्बन्धी जनचेतना जगाउने काममा लागेका छन्। उनी समाजले एचआईभी संक्रमितहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सगरमाथा आरोहणको तयारीमा जुटेका छन्। पोखरा रत्नचोक–७ का गोपाल श्रेष्ठको सो अठोटलाई साकार पार्न लोकप्रिय गायक एवं संगीतकार कर्णदास आर्थिक संकलन अभियानमा जुटेका छन्। उनी स्टेप अफ क्याम्पियनको विशेष समितिको संयोजक पनि हुन्।

श्रेष्ठको सगरमाथा आरोहणका लागि करिब ४३ लाख रुपियाँ आवश्यक पर्छ। त्यसका लागि देशका विभिन्न स्थानमा कर्णदास एकल साँझ हुँदै आएको छ। त्यसैको अर्को शृंखलास्वरूप आगामी फागुन १ गते लायन्स अफ काठमाडौं टेम्पलको आयोजनामा राजधानीको उत्तर ढोकास्थित म्युज रेस्ट्रोबारमा रात्रिभोजसहित कर्णदास सांगीतिक साँझ आयोजना गर्न लागिएको हो। कार्यक्रमका लागि प्रतिव्यक्ति ५ हजार रुपियाँ टिकट दर तोकिएको छ।