स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नतिको काम तत्कालै

0
Shares

नेपाल समाचारपत्र, रसुवा
चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम तत्काल सुरु हुने भएको छ ।

यो खण्डको स्तरोन्नतिको लागि चीनले टेण्डर गरिसकेको छ । अब काम थाल्न तयारी सुरु गरिएको सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख कुवेशकुमार शर्माले जानकारी दिनुभएको छ । यो खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भएर विभागले त्यसलाई स्वीकृत गरेपछि चीनले टेण्डर गरेको थियो । चीनले स्तरोन्नति गर्ने यो सडक खण्ड १६ किलोमिटर लामो छ । चीनले यो सडक खण्ड दुई लेनमा विस्तार गर्ने गरी काम अघि बढाउन लागेको छ । हाल यो सडक खण्ड साँघुरो हुँदा रसुवागढीबाट समान लिएर आउने गाडीलाई पनि चल्न मुस्किल पर्ने अवस्था छ । विभागमा अनुसार केही ठाउँमा जटिल भूगोल भएकाले स्तरोन्नतिको काम चुनौतिपूर्ण छ ।

शर्माका अनुसार यो सडक चीनले अनुदान सहयोगमा बनाइदिन लागेको हो । विभागले हाल सडक सीमाभित्र रहेका घर टहरा हटाउने र विद्युतका पोल सार्ने लगायतका काम गरिरहेको छ । यो काम सकिएलगत्तै चीनले सडक निर्माणको काम सुरु गर्नेछ । चीनले स्याफ्रुसम्मको सडक निर्माणको ३ वर्ष्भित्र यो सडकको स्तरोन्नति सकाउने महाशाखा प्रमुख शर्माले बताउनुभएको छ ।

नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । अब सेनाले ट्रयाक खोलेर सञ्चालनमा ल्याएको बेत्रावती–मैलुङ–स्याफ्रु सडक खण्ड पनि नेपाल सरकारको आफ्नै लगानीमा कालोपत्रे गर्ने योजना बनाएको छ । त्यसका लागि डिजाइनको काम भइरहेको छ ।

भूकम्पपछि तातोपानी नाका बन्द भएपछि मात्रै सरकाले रसुवागढी नाकासम्म पुग्ने सडकलाई सवारीमैत्री बनाउन प्रयास थालेको थियो । चीनले पनि हाल केरुङतर्फको भन्सार नाकालाई नै बढी प्राथमिकता दिइरहेको प्राधिकरणका अधिकारीहरुले बताएका छन् । सरकारले रसुवागढी जाने वैकल्पिक मार्गको खोजी गर्दै खोलाको किनारै–किनार नयाँ सडकको ट्रयाक खोलेको हो ।

त्रिशुलीबाट धुन्चे हुँदै स्याफ्रु पुग्ने सडकका विभिन्न स्थानमा ठूला पहिरोहरु छन् ।यो मार्गमा भएका पुलहरु पनि जोखिमयुक्त आवस्थामा छन्  ।