नेपाल समाचारपत्र , पर्वत
निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङमा विस्फोट गराउँदा घरमा क्षति पुगेकाले पुनर्वास गराउनु पर्ने माग स्थानीयले राखेका छन् ।
सुरुङमा बम विस्फोट गराउँदा २५ घरमा क्षति पुगेको भन्दै पीडितले सुरक्षित स्थानमा पुर्नबास गराउन माग गरेका हुन् ।
पीडितले सबैजसो घर चर्किएर बस्नै नमिल्ने भएकाले अन्यत्र सार्नुपर्ने माग राख्दै आएका छन् । ‘हामीले पहिले पनि धेरै पटक आयोजनालाई आग्रह गरेका हौं,’ स्थानीय सावित्री पोख्रेलले भनिन् ‘घर बस्नै नमिल्ने गरी भत्किँदा पनि आयोजनाले चाँसो दिएको छैन’ मोदी–१ भुकका कृष्ण चापागाईंले अपांग र विपन्न परिवारका घर भत्किने गरी पहिरो जाँदा र खानेपानीको मूल सुक्दासमेत आयोजनालेधले बेवास्ता गरेको आरोप लगाए ।
पीडितले पुनर्वासको माग गरेका छन् । हाम्रा धेरै घर बस्नै नमिल्नेगरी भत्किएका छन्’ पीडितमध्येका सुजन पोख्रेलले भने, ‘क्षतिपूर्तिभन्दा पुनर्वास गरियोस् । हाम्रो माग यत्ति हो ।’ भूगर्भबिदको टोलीले गरेको क्षति विवरणमा सहमत नभएपछि अबरोध गरेका थिए ।
मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, वडाध्यक्ष विकास तिमिल्सिना, स्थानीयवासी र प्राविधिकको टोलीले निकालेको क्षति मूल्यांकनअनुसार राहत लिन पीडित पक्ष सहमत नभएपछि आयोजना र पीडितबीच गाउँमै छलफल भएको थियो । छलफलबाट निष्कर्ष निस्कन नसकेपछि स्थानीयले पुनर्बासको माग गरेका हुन्। गाउँपालिकाले भने पुनर्वासका लागि स्थानीय तहले मात्रै पहल गरेर नहुने भएकाले केन्द्र सरकारसंग पनि सहयोग लिइने बताए । ‘एकीकृत बस्ती बनाउनका लागि केन्द्र सरकारको निर्णय आवश्यक हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘तपाईंहरुलाई परेको समस्यामा गम्भीर भएर हामी केन्द्र, प्रदेश र आयोजना पक्षसँग सहयोग लिन्छौं ।’
आयोजना पक्षले टनेलकै कारण क्षति पुगेको भए क्षतिपूर्ति दिन तयार भएको जनाएको छ । ‘क्षति हाम्रै कारणले नभए पनि प्राविधिक मूल्यांकनअनुसारको मुआब्जा दिन तयार छौं,’ आयोजना प्रमुख निरञ्जनबहादुर राउतले भने, ‘प्राविधिक मूल्यांकनमा आएको क्षतिपूर्ति दिन हामी पछि हटेकै छैनौं । स्थानीयको सहयोग हामीलाई चहिन्छ ।’ आयोजना स्थानीयकै भएकाले भागेर कतै जाने अवस्था नभएको उनले प्रस्ट पारे । प्राविधिकका अनुसार पाँच सेन्टिमिटर भन्दा धेरै चर्किएका घर पुननिर्माण गर्नुपर्छ । ५ सेन्टिमिटरभन्दा कम चर्किएका घर प्लास्टर गरेर बस्न मिल्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।
०७१ मंसिरमा सुरु भई ०७४ मंसिरभित्र सक्ने लक्ष्य लिएको आयोजना स्थानीयको अवरोधका कारण पटक–पटक रोकिँदै आएको छ । आयोजनाले सुरुका केही समय भूकम्प र भारतीय नाकाबन्दीको मार खेप्नुर्पयो । त्यसलगत्तै स्थानीयवासीको अवरोधले ०७३ को अन्त्यसम्म काममा समस्या उत्पन्न भएको थियो । २६ सय ९३ दशमलव ३० मिटर सुरुङमध्ये हालसम्म करिब साढे २४ सय मिटर पूरा भएको छ ।











प्रतिक्रिया