कृष्णउदास खनाल, वीरगन्ज ।
सरकारले ठोरी गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेसँगै स्थानीयहरु आन्दोलित भएका छन् ।
संघीय सरकारको माघ १४ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ठोरी गाँउपालिका वडा नम्बर ५ सुर्वणपुरमा रहेको सेवा केन्द्र, वडा नम्बर ४ घ्याङ डाँडामा सार्ने निर्णय गरेको थियो।मन्त्रिपरिषद् निर्णय बिहीबार साँझ सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले सार्वजनिक गरे लगत्तै सुर्वणपुरमा स्थानीयले आन्दोलन सुरु गरेका हुन्।
उनीहरुले बिहीबारबाट नै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहीबार साँझ र शुक्रबार बिहानैबाट प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सेवा केन्द्रमा रहेको गाउँपालिकाका प्रमुख पदमलाल श्रेष्ठ र उपप्रमुख शान्ति थिङको नेम प्लेट उखेलेर फालिदिएका छन्।यसअघि २०७४ माघ १५ गते बसेको गाउँपालिकाको पहिलो बोर्ड बैठकले सुर्वणपुरमा रहेको सेवा केन्द्र घ्याङ डाँडामा सार्ने निर्णय गरेको भोलिपल्ट माघ १६ गते देखि नै सुर्वणपुरका स्थानीयले दुई महिनासम्म आन्दोलन गरेका थिए।
संघर्ष समितिको अगुवाइमा ६५ दिनसम्म चलेको आन्दोलन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयका बारेमा सत्यतथ्य लेखी पठाउन जिल्ला समन्वय समिति पर्सालाई निर्देशन दिएसँगै चैत अन्तिम साता स्थगित भएको थियो।तर फेरि गाउँपालिकाका प्रमुख श्रेष्ठले धोका दिएको संघर्ष समितिका संयोजक जरी लामाले बताए।
सरकारको निर्णय जनविरोधी रहेको उनको आरोप छ। ठोरी गाँउपालिकाका प्रमुख श्रेष्ठले भने गाउँसभाले गरेको निर्णयको पक्षमा सरकारले सेवा केन्द्र परिवर्तन गरेको प्रतिक्रिया दिएका छन् । सेवा केन्द्रको बिषयमा ठोरी गाउँपालिकामा फेरि तनाब उत्पन्न भएको छ ।











प्रतिक्रिया