तयार हुँदै २५ फिटको बुद्धमूर्ति

94
Shares

रोशन पराजुली, हेटौंडा
हेटौंडा–१८ को हर्नामाडीस्थित ‘कलागाउँ’ का रूपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको २५ फिट अग्लो ढुंगाबाट निर्माण गरी स्थापना गरिने मूर्तिका लागि काम अगाडि बढेको छ। ललितपुरको बालकुमारीमा हाल बुद्धको शिर निर्माण जारी भएको हो।

मूर्ति स्थापना समिति संयोजक हेटौंडाका समाजसेवी कमलचन्द्र सुमनले मूर्ति निर्माणका लागि कलाकार अमर शाक्यसँग ४५ लाख रुपियाँमा सम्झौता भएको बताउनुभयो। सोही क्रममा उहाँले मूर्ति स्थापनापछि उक्त क्षेत्रको मुहार फेरिने बताउनुभयो।

मूर्ति स्थापना गरिने स्थानमा बुद्धको आसन र फाउन्डेसनको काम अब शुरू हुने सुमनले बताउनुभएको छ। मूर्ति निर्माण समितिले काठमाडौंको बौद्धमा गरेको एक कार्यक्रममा एकै दिन १६ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको थियो। त्यसपछि विभिन्न दाताबाट गरी हालसम्म करिब २२ लाख संकलन भएकामा मूर्ति निर्माणका लागि १५ लाख रुपियाँ उपलब्ध गराइएको छ। मूर्तिका लागि आवश्यक ढुंगा कुलेखानी र दक्षिणकाली जंगल क्षेत्रबाट लगिएको मूर्तिकारले जनाएका छन्।

गतवर्षको बुद्ध पूर्णिमाका दिन शिलान्यास गरिएको मूर्ति निर्माण तथा स्थापना र उक्त स्थानमा पार्कलगायत संरचना निर्माणका लागि करिब ३ करोड खर्च अनुमान गरिएको सुमनले जानकारी दिनुभयो।

उहाँका अनुसार मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न भवन, पानी ट्यांकी, मनोरञ्जन पार्क, कम्पाउन्ड वाल र अन्य संरचना बन्नेछन्। सुमनले उक्त क्षेत्रको नेपाल एकीकरणताकाको इतिहास, मूर्ति स्थापनाको अवधारणा, आवश्यकता, उद्धेश्य र लागत आदिबारे प्रकाश पार्नुभएको छ।

प्रदेश–३ सभा सदस्य छिरिङ दोर्जेलामाले स्थानीय र प्रदेश सरकारले यस कार्यमा सहयोग गर्नु जरुरी रहेको बताउनुभयो। मूर्ति निर्माण तदर्थ समिति काठमाडौंका अध्यक्ष सम्पूर्णकुमार लामाले बुद्धको शान्तिको सन्देश गाउँगाउँमा पु¥याउनुपर्ने भन्दै आफूहरूले अभियान थालेको बताउनुभयो।

निर्माण समिति सचिव दुर्गामान शाक्यले २०७४ माघमा भएको छलफलले मूर्ति निर्माणको प्रयास थालेको भन्दै आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने अवस्था मूर्ति स्थापनापछि न्यून हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले मूर्तिलगायत संरचना निर्माणका लागि हेटौंडेली दाताहरूको सहयोगको अपेक्षा गर्नुभएको छ।

गुम्बाडाँडा हेटौंडा बजारबाट करिब १७ किमी पूर्व दक्षिणमा पर्दछ, जहाँ पछिल्लो समय बिदाका दिन आन्तरिक र बा≈य पर्यटकको भीड लाग्ने गरेको छ। गुम्बाडाँडा क्षेत्रमा रहेको बस्ती हटाएर २०३५ सालमा मानिसलाई चितवन पठाइएको थियो। २०४२ सालमा उक्त क्षेत्रमा वृक्षरोपण भयो। संरचनागतरूपमा सरकारी जमिन देखिएकाले २०५४ सालमा गुम्बाको स्थापना भएको रेकर्ड छ।

सल्लाघारी भनिने ठाउँमा गुम्बा स्थापनापछि ‘गुम्बाडाँडा’ नामाकरण भएको हो। गुम्बा स्थापनापछि सामाजिकरूपमा चहलपहल हुँदै गर्दा शुरूआती हिसाबमा मंगलसिंह लामाको नेतृत्वमा २०६१÷६२ ताका उक्त क्षेत्र स्थापना गरिएको हो। २०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ छन्। नेपाल र अन्य पाँचवटा देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको छ। अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालासँगै गुम्बाडाँडाको हालको रूपसम्म ल्याउने श्रेय कलाकार लक्ष्मण भुजेल र डा। तारालाल श्रेष्ठ, प्राज्ञ ओम खत्रीको परिकल्पना छ। हाल पिकनिक क्षेत्र र मूर्तिकलासम्बन्धी ज्ञान लिन जसलाई इच्छा छ, त्यहाँ पुगेका हुन्छन्।

धरान–चतरा मार्गनजिक उक्त क्षेत्रमा पर्यटन सम्भावनाका स्रोत धेरै छन्। हेटौंडामा मानिसको चाप बढ्दो छ। केवल १७ किलोमिटर परको क्षेत्र भएकाले दूरीका हिसाबबाट पनि एकान्त गुम्बाडाँडा पुगिसकेपछि त्यहाँको दृष्य आफैंमा मनमोहक छन्। ४ दशमलव २५ हेक्टर क्षेत्रमा प्रतिष्ठान छ। यसको क्षेत्र बढाउन आवश्यक समन्वय गरिएको छ।