यमलाल भुसाल, बुटवल
स्थानीय निकाय, प्रहरी र भू–माफिया मिलेर आफ्नो घर भत्काइदिएको भन्दै एक महिलाले न्यायका लागि सञ्चारकर्मीसमक्ष अपिल गरेकी छिन्। साविक मोतिपुर–१, हाल बुटवल उपमहानगरपालिका–१७ रानीगञ्ज निवासी ५९ वर्षीया नवमी थारुले न्यायका लागि अपिल गरेकी हुन्।
आफ्नो बाबु स्व। घुराही थारुको करिब ८ बिगाहा जग्गा विभिन्न किसिमले किर्ते र जालसाजी गरी कब्जा गरेका भू–माफियाले विगत लामो समयदेखि घर भत्काइदिने धम्की दिँदै आएको उनले बताइन्। गत आइतबार बिहान करिब १० बजेतिर स्थानीय भू–माफिया, प्रहरी र नगरपालिकाको गाडीसहित आएको संयुक्त टोलीले एकाएक घर भत्काइदिएको उनको गुनासो छ। भू–माफियाहरूको प्रलोभनमा परेर नगरपालिका, स्थानीय वडा कार्यालय र प्रहरीले दिउँसो आफ्नो घर भत्काइदिएर आफूमाथि अन्याय गरेको उनको आरोप छ।
नगरपालिकाले घर भत्काउनुभन्दा ३ दिनअघि बुटवल घर बताउने कुमार थापाले सो जग्गा आफ्नो मान्छेको भएको भन्दै घर खाली गरिदिनु अन्यथा भत्काइदिने चेतावनी दिएर गएको उनले सञ्चारकर्मीसमक्ष बताइन्।
अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको आदेशबिना घर भत्काउने अधिकार कसैलाई नभएको भन्दै उनले नगरपालिकालाई घर भत्काउने अधिकार कसले दियो भनी प्रश्न गरिन्।
अदालतमा मुद्दा चलिरहेको उक्त विवादित जग्गामा भू–माफियालाई उपमहानगरपालिकाले पक्की घर बनाउन अनुमति दिने तर आफू वर्षौंदेखि जोतभोग र बसोबास गर्दै आएको घर भत्काइदिएर नगरपालिकाले अन्याय गरेको उनले बताइन्। उक्त जग्गामा २००४ सालदेखि आफूहरूको जोतभोग गर्दै आएको भन्दै आफूसँग जोतभोगको प्रमाणपत्रसमेत रहेको थारुले देखाइन्।
आफूसँग जोतभोग प्रमाणपत्र रहेकै अवस्थामा भू–माफियाहरूले किर्ते जालसाजी गरेर उनीहरूले आफ्नो नाममा बनाएको भन्ने थाहा पाएपछि आफूले रूपन्देही जिल्ला अदालतमा मुद्दा दिएको उनले जानकारी दिइन्। यसअघि सो ठाउँमा आफूसँग खरिद गरेर बनाएका एक दर्जनबढी घरसमेत भू–माफियाहरूले र नगरपालिकाले जबरजस्ती गरी भत्काइदिएको स्थानीय कल्लु थारुले बताएका छन्। सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासन, नगरपालिकालगाएतका ठाउँमा हारगुहार गर्दा सबैले बेवास्ता गरेको पनि उनले बताए।
आफूहरूको घरटहरा भत्काइदिने विरुद्ध कानुनी कारबाही र क्षतिपूर्तिका लागि आफूहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नहुँदा आफूहरू अन्यायमा परेको भू–माफिया पीडित स्व। घुराही थारुकी छोरी नवमी थारुले बताइन्। पटक–पटक स्थानीयमाथि सांघातिक आक्रमण गर्ने, घर भत्काइदिने, आगो लगाउने, विभिन्न खालका धम्की दिनेलगाएतका कार्यहरू भइरहँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको स्थानीय पशुपति शर्माको गुनासो छ।
तत्कालीन स्थानीय जोताहा किसान स्व। घुराही थारुको नाममा रहेको उक्त जग्गा निजको मृत्युपछि स्थानीय भू–माफियाहरूले किर्ते जालसाजी गरी नक्कली लालपुर्जा बनाई बिक्री–वितरण गरेका थिए। नगर प्रहरीसहित आएका वडाध्यक्ष सन्तबहादुर रानाको नेतृत्वमा चिन्तामणि पाण्डे, हरिलाल न्यौपाने, ढुण्डीराज भण्डारीलगाएतका स्थानीय भू–माफियाद्वारा भाडाका गुन्डाहरूको समेत प्रयोग गरेर गत मंसिर २० गते स्थानीयका घरटहरामाथि आक्रमण गरी भत्काइएको थियो भने गत सोमबार राति आगजनी पनि गरेको पीडित थारुले बताइन्।











प्रतिक्रिया