रसुवा, (नेस)
रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य ७ महिनादेखि ठप्प छ। आयोजनाको पावर हाउसमा बाढीले क्षति पु¥याएपछि गत असारदेखि निर्माण कार्य रोकिएको थियो। चिसोको समयमा कार्य गर्न नसकिने भएकाले काम शुरू नभएको आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताउनुभएको छ। गत मंसिरबाट एक महिना काम गर्ने योजना रहेकामा इन्सुरेन्स प्रक्रियाका कारण काम शुरू हुन नसकेको उहाँले बताउनुभएको छ। आयोजनाको काम आउँदो वैशाखबाट शुरू गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। यस वर्ष मनसुन चाँडै शुरू भएका कारण निर्माण कार्य प्रभावित बनेको थियो। आयोजनाले दिएको जानकारीअनुसार अहिले पावर हाउस निर्माण, प्रशारण लाइन निर्माण र पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ।
आयोजनाको ८५ प्रतिशत काम पूरा भएको छ। ९ सय ३० मिटरमध्ये करिब ३ सय मिटर पेनस्टक जोड्न बाँकी छ। २०६९ सालदेखि निर्माण शुरू भएको आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ। ६ दशमलव ४२ मेगावट क्षमताको आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने बताइएको छ। वर्षको ६ महिना मात्रै आयोजनास्थलमा काम गरिने भएकाले निर्माणमा ढिलाइ भएको हो। त्यसबाहेक भूकम्प र नाकाबन्दीले पनि निर्माण कार्यमा प्रत्यक्ष असर पु¥याएको छ। वर्षको ६ महिना मात्रै निर्माण कार्य हुने भए पनि असोजभित्रै निर्माण सम्पन्न गर्नका लागि कार्य अघि बढाइएको छ। सोमदाङदेखि ग्राङसम्म १६ किलोमिटर लामो प्रशारण लाइन निर्माण हुँदै छ। जय दुर्गे कम्पनीले ३३ केभी प्रशारण लाइनको निर्माण गरिरहेको छ।











प्रतिक्रिया