सरकार अधिनायकवादतर्फ उन्मुखः जोशी

0
Shares

नेपाल समाचारपत्र, इलाम ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेकाले यसको विरुद्ध कांग्रेस आन्दोलनमा उत्रने बताएका छन्। वर्तमान सरकार लोकतन्त्र समाप्त पार्दै सर्वसत्तावादतर्फ अघि बढ्दै गएको आरोप लगाउँदै उनले यसको विरुद्ध कांग्रेस चुप लागेर बस्न नहुने जिकिर गरे।

ताप्लेजुङबाट फर्कंदा इलाममा कार्यकर्ता भेटघाटका क्रममा जोशीले लोकतन्त्रको इतिहासलाई मेट्न खोजेको वर्तमान सरकारले लोकतन्त्र समाप्त भए पहिलो प्रहार कांग्रेसमाथि गर्ने बताए। पूर्व उद्योगमन्त्रीसमेत रहेका उनले भने– ‘देशको राजनीतिको मियो भनेको कांग्रेस हो’, उनी भन्छन्– ‘देशमा धेरै परिवर्तन ल्याएको छ, त्यसैले लोकतन्त्रलाई बचाइराख्न अब वर्तमान सरकारविरुद्ध आवाज उठाउनुपर्ने दिन आएको छ।’ वर्तमान सरकार पूरै असफल भएको जनाउँदै उनले हत्याराको संरक्षण, भ्रष्टाचारमा लुप्त हुँदै जनतालाई भ्रम छरेर देशमा ब्र≈मलुट गरिरहेको आरोप लगाए।

फरक एक प्रसंगमा जोशीले भने– ‘नेपाली कांग्रेसभित्र केही कमीकमजोरी रहेको छ। यसलाई सच्याउँदै लानुपर्ने समय आएको छ।’ पार्टीमा कार्यकर्तालाई प्रशिक्षण दिने तथा युवालाई कसरी समेट्नेलगायतका विषयमा गम्भीर भएर लाग्नु अबको आवश्यकता रहेको उनले जनाए। कार्यक्रममा सहभागी जिल्लास्थित कांग्रेस नेता कार्यकर्ताले लामो समयदेखि जिल्लामा सक्रिय भएर काम गर्ने कार्यकर्ताको मूल्यांकन पार्टीले नगरेको गुनासो पोखे। जिल्लामा पाइला नटेक्ने अनि निर्वाचनको समयमा टिकट उसैलाई दिने प्रवृत्तिले कांग्रेसको राजनीतिमा सक्रिय भएर लाग्ने नेता कार्यकर्ताको मनोबल घटेको बताएका थिए।