उखु किसानलाई एकपछि अर्को समस्या

0
Shares

मिलको ‘प्यान’ फुटेर उखुको वजन रोकिँदा किसानलाई नोक्सानी
रोशनी भट्टराई, विराटनगर
द्योगीसँग खरिद–बिक्री मूल्य समझदारीपछि पुर्जी पाएका उखु किसान काटेको उखु पेल्ने मिलमा समस्या आएपछि उखुको वजनमा आउने ह्रासको चिन्तामा परेका छन्।

काटिसकेको उखुको तत्काल तौल लिएर बिक्री गर्न नपाउँदा अत्यधिक क्षति बेहोर्नुपर्ने किसानहरूले गुनासो गरेका छन्। खेतमै रहेको उखुको भन्दा काटिसकेको उखुको वजनमा दोब्बर ह्रास आउने गरेका कारण किसानलाई उखुको वजन जोगाउनै गाह्रो परेको छ।

‘खेतमा उखुको तौल एक उच्च विन्दुमा हुन्छ। त्यही उखु काटिसकेपछि तौलमा कमी आउछ’, उखु किसान नबरुद्धिन मियाले भने– ‘अब मिलको प्राविधिक समस्याले उखुको वजनमा भारी ह्रास आएपछि थप चिन्ता थपिएको छ।’ एक ट्रली उखुको वजन ८० क्विन्टल हुन्छ। किसानले काटिसकेको उखु दुई दिन मात्रै र≈यो भने ४ क्विन्टल, तीन दिनमा ७ क्विन्टल, चार दिनमा ११ क्विन्टल र पाँच दिनमा १५ क्विन्टल र सात दिनसम्म रहन गयो २० क्विन्टलसम्म ह्रास आउने गर्दछ। सुनसरी, मोरङ र झापाका किसानले उत्पादन गरेको उखु खरिद गरेर पेल्दै आएको सुनसरीस्थित इस्टर्न सुगर मिलको मेसिनरी पुर्जा ‘प्यान’ केही दिनअघि फुटेपछि किसानको उखुको तौल लिने काममा समेत ढिलाइ हुँदा क्षतिको चिन्तामा उखु किसान परेका हुन्।

उखु पेलेर निकालेको रस तताएर उमाल्ने काम गर्ने दुईवटा प्यान पड्किएसँगै दैनिक उखु पेल्ने क्षमतामा कमी आएकाले तौल लिने काममा समेत अवरोध भएको हो। प्यान पड्केसँगै मिल व्यवस्थापन पक्षले मर्मतको काम थालिसकेको भए पनि अझै १५ दिन लाग्ने बताइन्छ। इस्टर्नले दैनिक २० हजार क्विन्टल उखु पेल्दै आएकामा अहिले प्यान पड्किएसँगै दैनिक १२ देखि १५ हजार क्विन्टल मात्र पेलिरहेको छ।
सरकारले उखुको मूल्य तोक्न गरेको ढिलाइ र मिलले उखु लिन गरेको आनाकानीका कारण ढिलो गरी उखु काट्न थालेका किसानले काटिसकेको उखुसँगै काट्न बाँकी उखुको वजनमा आउने ह्रासको चिन्ता भने आफैं लिनुपर्ने बाध्यता छ। मिलले १ हजार किसानलाई १ सय ८० हजार क्विन्टल उखु काट्न पुर्जी जारी गरिसकिएको इस्टर्न सुगर मिलका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताले बताए।

पुर्जी पाएका किसानले काटेको उखुको तौल लिने काम पनि क्रसिङमा आएको समस्याले ढिलो हुने भएपछि जारी भएका पुर्जीमा उल्लेखित परिमाण घटाउन अनुरोध गरिएको छ। खेतमै सुकेर वजनमा क्षति बेहोरेका किसानले काटिसकेको उखु तत्कालै तौल लिएर जिम्मा लगाउन नसक्दा हुने क्षतिको जिम्मेवार किसान बन्ने कि मिल सञ्चालक भन्ने विषयमा मिलसँग थप छलफल भइरहेको कोसी उखु उत्पादक संघले जनाएको छ। मिलले पेलाइको आवश्यकता हेरेर मात्रै उखुको तौल लिने गरेको छ।

किसानले भने काटिसकेको उखुको तौल लिएर भण्डारण गर्नुपर्ने माग अगाडि सारेपछि मिल व्यवस्थापनले मानेको छैन। ‘मिलले उखुको माग गरेअनुसार काटेर मिल परिसरमा लगेर थन्काइएको छ’, सुनसरीको अमरडुवाका उखु किसान हरिकृष्ण यादवले भने– काटेपछि निकै घटिसकेको उखुको तौल पनि मिलले नगर्दा हामीलाई निकै घाटा भएको छ।’ २ पैसा हुन्छ कि भनेर दिनरात नभनी गरिएको मेहनतको मूल्य नपाउँदा सारै दुःख लागेको उनले बताए।

कृषिप्रधान मुलुक नेपालमा कृषकका समस्यालाई कसैले महसुस नगरेको यादवको गुनासो छ। काटिसकेको उखु ४÷५ दिन राख्नुपर्ने अवस्थामा किसानले प्रतिट्रली १२ देखि १५ क्विन्टलसम्म वजनको ह्रासकट्टीको क्षति बेहोर्नुपर्ने गरेको छ। पूर्वका तीन जिल्लामा २ हजार ४ सय किसानले उखु खेती गरेका छन्। गतवर्ष २ हजार किसानबाट ११ लाख ७८ हजार क्विन्टल उखु खरिद गरेको मिलले यस वर्ष १५ लाख क्विन्टल उखु उत्पादनको अनुमान गरेको छ।