ग्रामीण सडकका हेरालु

0
Shares

सलिम अन्सारी, प्युठान
पहेंलो रङको ज्याकेट, टोपी, हेल्मेट र हातमा औजार समाएर सडकमा बाटो बनाउँदै थिइन् ऐरावती गाउँपालिका–५ की इन्द्रा बोहरा। बिहानदेखि साँझसम्म चेरनेटा–पुरनठाटी–जोगीटारी सडकखण्डमा दैनिक भेटिने हेरालु हुन् उनी।

कुरा गर्दै उनी सडकको छेउतिर गइन्, औजार उचालिन् र भनिन्– ‘सडक बनाउन थालेको धेरै भयो, अब त सडक हेरालु भने पनि हुन्छ।’ हेरालुले सडकमा खसेका सानातिना ढुंगा र पहिरो हटाउने, नाली खन्ने सफा तथा मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने झारपात तथा झाडी हटाउने काम गरिरहनुपर्छ।

सडक विभागका कर्मचारीजस्तै शनिबारबाहेक अन्य दिन बिहान ९ देखि ५ बजेसम्म उनी सडकमै भेटिन्छिन्। दैनिकी ज्यालादारी काम गर्छिन् उनी। ५ सय ८५ रुपियाँ दैनिक कमाउछिन्। यसैको भरमा गुजारा चलाएको बोहराले सुनाइन्।

बोहोराजस्तै अरू ७४ सम्भारकर्ता गाउँका सडकमा भेटिन्छन्। सडक तथा यातायात व्यवस्थित गर्न पूर्वाधार शाखा प्युठानअन्तर्गत राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम ९एसएनआरडीपी० ले विभिन्न ७ वटा ग्रामीण सडकखण्डमा यस्ता जनशक्ति खटाएको कार्यक्रमका सब इन्जिनियर चौधरीले बताए। ‘कच्ची सडकमा नियमित यातायात सञ्चालन गर्न सडक हेरालु राखेका छौं।’ उनले भने– ‘सडक बिग्रनबाट रोक्न उनीहरूको काम प्रभावकारी हुनेछ।’ कार्यक्रममार्फत उनीहरूलाई भत्किएको सडक तथा स–साना खाल्डाखुल्डी मर्मतको जिम्मा दिइएको छ। १ सय ५० किलोमिटर सडकखण्डको प्रत्येक २ किलोमिटरमा एकजना मर्मतकर्ता खटाइएको छ। यसबाट केही विपन्नहरूको आयस्तरमा समेत सुधार आउने उनको भनाइ छ।

कार्यक्रमअन्तर्गत दाखाक्वाडी–बर्जिबाङ–सोत्रेसारी सडकखण्डमा १५ जना, विजुवार–ढुंगेठाटी–देउराली सडकखण्डमा ८ जना, बाग्दुला–दम्ती–बाहने सडकखण्डमा ३ जना, बाग्दुला–मच्छी–अर्खा भीमगिठे सडकखण्डमा १९ जना सम्भारकर्ता राखिएको छ। त्यस्तै मच्छी–बांगेमरोट–सौतामारे सडकखण्डमा ८ जना, चेरनेटा–पुरनठाटी–जोगीटारी सडकखण्डमा १४ जना र कुमालटार–कुन्द्राचौर–रातापानी सडकखण्डमा ८ जना गरी ७५ जना सम्भारकर्ता सडकको नियमित मर्मतमा खटिएको सब इन्जिनियर चौधरीले बताए।

‘सम्भारकर्ता आए नआएको अनुगमन गर्छौ’, उनले भने– ‘खन्ने स्थान किटान गरिदिन्छौं। ५ वर्षका लागि सम्भारकर्ता राखिएको हो। समय सकिन लागेको छ। यही असार मसान्तसम्म समयअवधि हो।’ सडकको नियमित रेखदेख र मर्मत सम्भारमा सघाउ पुग्ने गरी राखिएका हेरालुले सडकको स्तर खस्कन नदिने र सडक सफा राख्ने गरेका उनले बताए।