सेभियामाथि बार्सिलोनाको गोल वर्षा

0
Shares

लन्डन, (एजेन्सी)
कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ गोलअन्तरले हराएर सेमिफाइनलमा पुग्न सफल भएको छ।
बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइानलमा पुग्न सफल भएको हो। बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन फिलिपे काउटिन्होले २ तथा इभान राकिटिक, सर्जि रोबर्टो, लुइस स्वारेज र कप्तान लियोनेल मेसीले समान १ गोल गरेका थिए।
खेलको १३औं मिनेटमा काउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ३१औं मिनेटमा इभान राकिटिकले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफसम्म २–० को अग्रता बनायो।

खेलको ५३औं मिनेटमा काउटिन्होले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो। त्यसको एक मिनेटपछि सर्जि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई फराकिलो जिततर्फ अघि बढाए। ६७औं मिनेटमा सेभियाका गुइलहेमी एरानाले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएका थिए। खेलको ८९औं मिनेटमा लुइस स्वारेजले र इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै बार्सिलोनालाई आधा दर्जन गोलअन्तरको जित दिलाए।
युभेन्ट्स बाहिरियो

कोपा इटालियाअन्तर्गत बुधबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्स एटलान्टासँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
एटलान्टासँग ३–० गोलअन्तरले पराजित हुँदै युभेन्ट्स प्रतियोगिताबाट बाहिरिएको हो। एटलान्टालाई सेमिफाइनलमा पु¥याउन डुभान जापाटाले दुई तथा टिमोथी कास्टागनेले एक गोल गरेका थिए। घरेलु टोली एटलान्टाले ३७औं मिनेटमा टिमोथी कास्टाग्नेको गोलबाट खेलमा अग्रता बनाएको थियो।

त्यसको दुई मिनेटपछि नै डुभान जापाटाले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। यसैगरी खेलको ८६औं मिनेटमा डुभान जापाटाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै एटलान्टाको जित ३–० ले सुनिश्चित पारे।