बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगीहरूको मोर्चाबन्दी

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
बैँकको चर्को ब्याजदरविरुद्ध मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले मोर्चाबन्दी गर्न शुरू गरेका छन्।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको नेतृत्वमा बिहीबार विराटनगरमा भएको बृहत् भेलाले देशभरका उद्योगी व्यवसायीलाई समेटेर ब्याजदर नहटाएसम्म आन्दोलन गर्ने निष्कर्ष निकालेका छन्।

उद्योगीको आन्दोलनमा विराटनगरस्थित विराट व्यापार संघ, खुद्रा व्यापार संघ, ट्रक व्यवसायी संघ, होटल व्यवसायी संघ, ट्राभल्र्स एसोसिएसन, घरेलु तथा उद्योग संघ, कपडा व्यवसायी संघलगायतले संस्थागत रूपमै ऐक्यबद्धता जनाएका छन्।

उद्योग संगठनमा भएको भेलाले संगठनका अध्यक्ष भीम घिमिरेले देशभरबाट उद्योगी व्यवसायीहरूको ऐक्यबद्धता आउने क्रम जारी रहेको बताउनुभयो। ‘जबसम्म ब्याजदर घट्दै तबसम्म आन्दोलन रोकिँदैन,’ घिमिरेले भन्नुभयो–‘यो आन्दोलन सरकारविरुद्ध होइन राष्ट्र बैंकको नीतिविरुद्ध हो।’

‘बैंक सञ्चालनमा आएको एक वर्ष नपुग्दै बैंक नाफामा हुने तर २०औं वर्ष सञ्चालनमा रहेका उद्योग घाटामा हुने अवस्था कसरी सिर्जना भयो रु’

उद्योगीहरूले चरणबद्ध आन्दोलनसमेत घोषणा गरिसकेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र राष्ट्र बैंकमार्फत् ज्ञापनपत्रसमेत पठाइसकेका छन्। माग सम्बोधन नभए आइतबारदेखि विराटनगरस्थित राष्ट्र बैंकमा धर्ना बस्ने कार्यक्रम छ।

२३ गतेसम्म माग सम्बोधन नभए २४ गते सबै उद्योगको चाबी बुझाएर राष्ट्र बैंकमा तालाबन्दी गरेर अनिश्चितकालीन धर्नामा बस्ने आन्दोलनका कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेका छन्। बैंकको दादागिरी र मनोमानीविरुद्ध आन्दोलन गर्नुपरेको उहाँको कथन छ।

‘बैंक सञ्चालनमा आएको एक वर्ष नपुग्दै बैंक नाफामा हुने तर २०औं वर्ष सञ्चालनमा रहेका उद्योग घाटामा हुने अवस्था कसरी सिर्जना भयो रु’ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भन्नुभयो–‘बैंकको ब्यालेन्स सिट हेर्ने हो भने सबै बैंक नाफामा हुन्छन्।’ यो क्षेत्रका ६० प्रतिशतभन्दा बढी उद्योग घाटामा सञ्चालन भएको सारडाले बताउनुभयो।

उद्योगीहरूले उत्पादनमूलक उद्योगलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ प्रतिशत र व्यावसायिक क्षेमा ९ प्रतिशतमा नबढाई ब्याजदर कायम गर्नुपर्ने र बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरूमा सरल तरिकाले लगानी गर्ने व्यवस्था मिलाउनुपर्ने मुख्य माग अघि सारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले पनि संगठन र संघले शुरू गरेको आन्दोलनलाई समर्थन गरेको छ।