धनवीर दाहाल, रुकुम
हरेक हिउँदको चिसो तथा वर्षात्को झरीमा पनि ओढारमा बस्दै आएका बादी परिवारले अब भने घरमा बस्न पाएका छन्।
रुकुम पश्चिमको विभिन्न खोला किनार तथा ओढारमा बस्दै आएका बादी परिवारहरूको चेतना तथा आर्थिक अवस्था माथी उठ्दै गएको छ। पहिले खोला किनार र ओढारहरूमा जताततै बसेको देखिने बादी समूदाय पछिल्लो समय सानोतिनो भए पनि घरव्यवहार र व्यवसायमा लागेर जीवीकोपार्जन गर्न थालेका छन्।
यसअघि रुकुमको सानीभेरी नदी किनार र ओढार, चौरजहारी, छिबाङ र आठबिसकोटका विभिन्न ठाउँहरूमा बादी समयहरू ओढारमा यसरी बस्दै आएका थिए। आफ्नो एक टुक्रा जग्गा र घर नहुँदा हिउदको चिसो सिरेटोदेखि वर्षातको भेलसंग जुझ्दै उनीहरू जीवीकोपार्जन गर्दै आएका थिए। बासको मात्र समस्या थिएन उनीहरूका लागि साँझबिहानको छाँक टार्न पनि धौैधौ थियो।
कहिले भोक भोकै त कहिले कहिले माछा मारेर स्थानीय बजारहरूमा बेचेर दैनिकी गुजार्दे आएका थिए। जसका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित हुने गरेका थिए। बादी समूदायहरूको समस्या उजागर भएर पनि सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेर उनीहरूको दैनिकीलाई सहज बनाउन पहल गरेका हुन्।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडीलगायतका चौरहाजरी र छिबाङलगायतका ठाउँहरूमा बादी समूदायका लागि घर निर्माण र कृषिसहितका सानातिना व्यवसायहरूमा आवद्ध बनाएपछि उनीहरूको मुहारमा खुसी छाएको छ भने पहिलेकोभन्दा धेरै माथि उठेको उनीहरूले महसुस गरेका छन्।
रुकुम आठबिसकोटकी तारा बाढीले ओढारमा बस्दै आईरहेका आफूहरूका लागि भवन निर्माण गरेर बस्न दिँदा निकै खुसी भएको बताउँछिन्। बादी समूदायले हाल भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् भने सानोतिनो व्यवसाय गरेर पनि जीवन जुजार्दै आएका छन्।
रुकुम चौरजहारी नगरपालिका, मुसीकोट नगरपालिका, बाँफिकोट गाउँपालिकाको पीपल, आठबिसकोट नगरपालिकाको आठबिसकोट र गोतामकोटसहितका विभिन्न ठाउँमा घरबारविहीन बादी समूदायहरूको भवन निर्माणको काम केही वर्षअघि नै थालिएको थियो।











प्रतिक्रिया