रिवन काट्दै प्रधानमन्त्री ओलीले भनेः मेची–महाकाली रेल दौडाएर छाड्छु

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेची –महाकाली रेल दौडाएर छाड्ने ठोकुवा गरेका छन् । झापाको भद्रपुर स्थित मेची नदीमा निर्माण सम्पन्न भएको मेची पुललाइ विहीबार साँझ उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

रेल हेर्नका लागि भारत जानु पर्ने वाध्यता हटाइने प्रधानमन्त्री ओलीले बताए । नेकपाका अध्यक्ष समेत रहेका ओलीले युवा अवस्थामा रेल हेर्नका लागि पहाडबाट झरेर हाप पैण्ट लगाएर खाली खुट्टा भारतको गलगलिया गएको स्मरण गराएका थिए । वि.सं. २०१९ सालको चैत्रमा पहिलो पटक मेची नदी तरेर रेल हेरेको उल्लेख गर्दै खोला तरेर रेल हेर्न अर्को देश जान नपरोस उनले भने ।

यो सरकार काम गर्ने हो कुरा गर्ने हैन भन्दै एघारौँ पटक शिलान्यास गरेर वाह््रपल्ट शिल्लान्यास गरेपछि बनाउन थाल्ने हैन उनले भने । अहिलेको समय बनाउने गरी काम गर्ने हो । ढिलै भएपनि निर्माण सम्पन्न भएको मेची पुल मान्छेलाइ देखाउन नभएर गाडी कुदाउनको लागि बनेको उनको धारणा थियो । पुलको भारत तर्फ रहेको सडकलाइ भारतका प्रधानमन्त्रीसँग समन्वय गरेर समाधान गरिने उनले बताए । भद्रपुरलाइ नयाँ सहरको रुपमा विकास गर्न अब बाटो खुलेको उनको भनाइ छ । पुल अभावका कारण भद्रपुर पछि परेको भन्दै अब आधुनिकता तर्फ गएको उनले बताए ।

निर्माण सम्पन्न भएको सात महिनापछि उद्घाटन

शिलान्यास भएको झण्डै एक दशकमा निर्माण सम्पन्न भएको झापाको भद्रपुर स्थित मेची नदीमा सातमहिना अघि निर्माण सम्पन्न भएको पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

वि.सं.२०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले पुल शिलान्यास गरेका थिए । गच्छदार मेची पुल शिलान्यास गर्ने तेस्रो व्यक्ति हुन् । यसअघि २०२२ सालमा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रले पहिलो पटक पुलको शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको १९ वर्षसम्म पुल नबनेपछि २०४१ साल जेठ १५ गते तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दोस्रो पटक शिलान्यास गरे । दोस्रो पटक शिलान्यास गरेको २५ वर्षपछि विं.स.२०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले ३ वर्षमा पुल निर्माण सम्पन्न हुने गरी शिलान्यास गरे पनि विविध कारणले आठ वर्षमा निर्माण सम्पन्न भएको थियो । कनक सूर्य एण्ड सन्स कम्पनीले ३७ करोड ३६ लाख ५० हजार ठेक्का लिएको थियो । ६ सय ६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता ७० टन रहेको प्राविधिकले जनाएका छन् ।

रात्रिकालीन हवाई सेवाको उद्घाटन

झापाको भद्रपुर स्थित चन्द्रगढी नागरिक उडडयन कार्यालयमा रात्रिकालीन हवाई सेवाको समेत प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । मेची पुलको उद्घाटन पछि साँझ साढे ६ बजे अ‍ेलीले स्वीच अन गरेर उद्घाटन गरेका थिए । दिनमा मात्र चल्ने जहाज अब रात्री कालिन सेवा शुरु भएकोमा खुसी व्यक्त गरेका थिए । हाल रहेको पन्ध्रसय रन–वे लाइ वढाउनु पर्ने उनले बताए । उद्घाटनपश्चात यति एयरलाइन्सको जहाज मार्फत उनि काठमाण्डौ उडेका थिए ।

वुधबार साँझ रात्रिकालीन हवाई सेवाको परीक्षण उडान सफल भएको थियो । बुद्ध एयरलान्सले आरएनएभी (एरिया नेभिकेसन) को सहायताले लो भिजिबिलिटी र हाल जडान गरिएको रनवे लाइटले रात्रिकालीन परीक्र्षेण उडान गरेको थियो ।

विराटनगरबाट उडान भरेको बुद्ध एयरलाइन्सको जहाजले भद्रपुर विमानस्लथमा ५ बजेर ४० मिनेटमा अवतरण गरेको थियो ।
बुद्ध एयरले आगामी फेब्रुअरी १० बाट साँझ ५ बजेर ५० मिनेटमा रात्रिकालीन हवाई सेवा सुरु गर्ने जनाएको छ । दुईवटा जहाजले सेवा दिर्दै आएको बुद्ध एयरले यसका लागि एउटा जहाज थपिसकेको बुद्ध एयरका सुवास घिमिरेले जानकारी दिए।

यसअघि खराब मौसम र लो भिजिविलिटीका कारण जहाजहरू रद्द गर्नुपर्ने स्थितिमा अब जडान गरिएको यस प्रविधिले ती दीर्घकालीन समस्या हटनुका साथै रात्रिकालीन सेवाले हवाई यात्रुलाई आगामी दिनमा फाइदा पुग्ने चन्द्रगढी नागरिक उडडयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए । अपरान्ह् तीनबजे मेची पुल उद्घाटन गर्ने कार्यक्रम रहेपनि साँझ साढे पाँचबजे मेचीपुल आएका थिए ।

प्रधानमन्त्री ओलीको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ,संस्कृति तथा नागरिक उडडयन मन्त्री रविन्द्र प्रसाद अधिकारी,प्रदेश १ का मुख्य मन्त्री शेरधन राइ,कानूनमन्त्री हिकमत राइ,सामाजिक विकास मन्त्री जीवन घिमिरे ,संविधान सभा सदस्य, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी लगायत रहेका थिए ।