अमेरिकाद्वारा भेनेजुयलाका विपक्षी नेताको पक्षमा चेतावनी

0
Shares

काराकास,(एजेन्सी)
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलालाई अमेरिकी कूटनीतिज्ञ र विपक्षी राजनीतिक नेता खुआन गोइदोमाथि कुनै पनि गडबडी भएको खण्डमा अमेरिकाले त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्।

विश्वका २० भन्दा बढी देशले खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएको अवस्थामा अमेरिकाले भने यस्तो चेतावनी दिएको हो। गोइदोले राष्ट्रपति निकोलस माडुरोमाथि गत वर्ष सम्पन्न आम चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन्।

यसैे महिना मात्र राष्ट्रपति माडुरोले दोस्रो राष्ट्रपतीय कार्यकालका लागि शपथ ग्रहण गरेका थिए। तर, विपक्षी राजनीतिक समूहले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए। त्यसको लगत्तै विपक्षीका नेता खुआन गोइदोको अपिलअनुसार भेनेजुएलामा विशाल जन प्रदर्शन शुरू भएको थियो।

भेनेजुएलामा चलिरहेको राजनीतिक संकट अब चरम अवस्थामा पुगिसकेको छ। विपक्षीले समूह माडुरोलाई कुनै पनि हालतमा अपदस्थ गर्ने प्रयास लागि परेको अन्तर्राष्ट्रिय राजनीतिक विशलेषकहरूले बताएका छन्। रुस, चीन, मेक्सिको र टर्कीले खुलेरै माडुरोको समर्थन गरिसकेका छन्।
यसैबीच हालै स्पेन, जर्मनी, फ्रान्स र ब्रिटेनलगायत थुप्रै युरोपेली देशले भेनेजुएलामा ८ दिनभित्र चुनाव गर्ने घोषणा नगरिएको खण्डमा गोइदोलाई नै राष्ट्रपतिको मान्यता दिइने चेतावनी दिएका छन्। यस्तै गरी एक दर्जनभन्दा बढी ल्याटिन अमेरिकी राष्ट्र र क्यानडाले पनि विपक्ष नेता गोइदोलाई राष्ट्रपतिका रूपमा समर्थन गरिसकेका छन्।

तर, निकोलस माडुरोले यसलाई अस्वीकार गर्दै युरोपेली देशले यो चेतावनी फिर्ता लिनुपर्ने बताएका छन्।
यसैबीच अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले ट्वीटरमार्फत अमेरिकाको मत राख्दै अमेरिकी कूटनीतिज्ञ र विपक्षी नेता खुआन गोइदोलाई कुनै प्रकारको धम्की नदिनसमेत चेतावनी दिएका छन्।

यसै गरी शनिबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा रुसले अमेरिकामाथि भेनेजुएलामा सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोप लगाएको थियो।