काठमाडौं, (नेस)
नागार्जुन राष्ट्रिय निकुञ्ज र शिवपुरी राष्ट्रिय निकुञ्जभित्र निर्माण भएका १९ वटा रक–क्लाइम्बिङ गर्ने रुट फोहर भएकाले त्यसलाई सफाइ गर्ने काम शुरू भएको छ।
पर्यटन व्यवसायी आङ पासाङ शेर्पा र गेल्जे शेर्पाको पहलमा सरसफाइ कार्यक्रम भएको हो। विगत १८ वर्षअगाडि निर्माण भएका उक्त १९ वटा रुट केही वर्षदेखि अत्यन्त फोहोर भएकोमा रक–क्लाइम्बिङ गर्न कठिनाइ भइरहेको थियो। आङ पासाङ शेर्पा र गेल्जे शेर्पाको संयुक्त प्रयासबाट ती रुटमा सरसफाइ भएपछि क्लाइम्बिङ गर्न सहज हुन पुगेको पर्यटन व्यवसायीको भनाइ रहेको छ।
क्लाम्बिङको रोमाञ्चकतालाई अझ सहज र सुरक्षित बनाउन ढुंगालाई खोपेर डोरीमा झुन्डिन मिल्ने गरेर थप सामग्री जडान गरिएको छ। जसबाट साहसिक खेल, पदयात्रा र पर्वतारोहणका लागि नभई नहुने रक क्लाइम्बिङ विस्तार भएको आङ पासाङ र गेल्जे शेर्पाले बताएका छन्।
रक–क्लाइम्बिङका १९ वटा रुटमा रुट नम्बर १९ को रक फल डाउन हुने खतरा भएकाले त्यस रुटमा खतरा लेख्ने कार्य पनि दुवैले गरेको बताएका छन्। उनीहरूका अनुसार रुट नम्बर १ देखि १८ सम्म भने सम्पूर्णरूपमा सुरक्षित रहेको छ। क्लाइम्बिङ स्पटमा प्रवेश गर्न पहिला जनही नगद ५ सय रुपियाँ तिर्नुपर्नेमा हाल शेर्पाद्वयको पहलबाट २ सय ५० रुपियाँ तिरे पुग्ने भएको छ।
आङ पासाङ शेर्पा पीके एभरेस्ट भ्यु ट्रेकिङका पबन्धक हुन् भने गेल्जे शेर्पा एक्सपेडिसन प्रालिका माउन्टेन गाइड हुन्। यो रक–क्लाम्बिङ रुट निकुञ्जभित्र भए पनि काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक भएको उनीहरूको दाबी रहेको छ। यस कार्यबाट सन् २०२० सालको भिजिट नेपाल तथा आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने आशा गरिएको छ।











प्रतिक्रिया