महानगरको बजार अनुगमन तीव्र 

0
Shares

काठमाडौं, (नेस)
महानगरको अनुगमन समितिले सोमबार, बागबजार क्षेत्रका कुकुरलाई दिइने रेबिजविरुद्धको खोप र स्थानीय बजारमा बेचिने खाद्यवस्तुको अनुगमन गरेको छ।

 त्यस क्रममा कुकुर पक्रिने, तिनलाई खोप दिने र खोप लगाइएका कुकुरको पहिचान गर्ने विधि हेरिएको थियो। महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, २८ का वडाध्यक्ष भाइराम खड्गी, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारी, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो। अनगुमनमा क्रममा उपप्रमुख श्रेष्ठ खड्गीले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने तथा प्रभाव राख्ने क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन कार्य भइरहेको जानकारी दिनुभयो।

‘हामी निर्वाचित भएर आएको पनि यतिका समय भइसक्यो। नागरिकलाई महसुस गराउने काम गर्नुप¥यो नि’, उहाँले भन्नुभयो– ‘सडकमा भएका कुकरले टोकेर सहरबासीले त्रसित हुन नपरोस् भन्ने हाम्रो चाहना हो। त्यसैले रेबिजविरुद्धको खोप दिने क्रमलाई निरन्तरता दिएका छौं।’
 कुकरलाई खोप दिने काम मनुमित्र कार्यक्रमले गरिरहेको छ। यो कार्यक्रम ह्युमन सोसाइटी इन्टरनेसनल, द जान गुडल इन्स्टिच्युट र महानगरको संयुक्त कार्यक्रम हो।

महानगरमा यो कार्यक्रम २०७२ साल चैत ३ गतेदेखि सञ्चालनमा छ। पछिल्लो समय गएको ४ दिन अघिदेखि सामुदायिक कुकुरलाई खोप दिन थालिएको हो। यसक्रममा पहिलो दिन वडा १ मा ५३ वटा कुकरलाई खोप दिइयो भने दोस्रो दिन सोही वडामा ४३ वटालाई, तेस्रो दिन वडा २८ मा २५ वटालाई रेबिजविरुद्धको खोप दिइयो।

चौथो दिन अर्थात् सोमबार पनि वडा २८ मा खोपको कार्यक्रम चलेको हो। यस कार्यक्रममा शहरका कुकुर गणना गर्ने खोप लगाउने तथा बन्ध्याकरण गरिन्छ। अनुगमनका क्रममा दुग्ध पदार्थजन्य खाद्यवस्तुको बिक्री, भण्डारण, गुणस्तरलगायतका गतिविधि पनि हेरिएको थियो।