विकासका लागि चीनको सहयोग आवश्यक ः प्रम ओली 

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तीव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताउनुभएको छ।
 चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।
 प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्नका लागि छिमेकी देशबाट बहुआयामिकरूपमा सहयोग लिनुपरेको उल्लेख गर्नुभएको छ। ‘नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ। यसको म प्रशंशा गर्न चाहन्छु’ –प्रधानमन्त्री ओलीले भन्नुभयो।

  हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको बताउनुभएको छ। तीव्र विकासका लागि अवरोधको रूपमा रहेका ऐन, कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ। ‘तीव्र विकासका अवरोधक केके छन् सम्बन्धित निकायले ल्याउनुहोस्। आवश्यकताअनुसार मन्त्रिपरिषद्बाटै निर्णय गरेर त्यस्ता अवरोधहरू हटाउmँला’ –प्रधानमन्त्री ओलीले भन्नुभयो।

 प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिकरूपले पनि नजिक रहेको स्पष्ट पार्नुभएको छ। ‘हाम्रो सम्बन्ध प्राचीन कालदेखिको हो। प्राकृतिकरूपमा हो। सांस्कृतिकरूपमा पनि हो’ –प्रधानमन्त्री ओलीले भन्नुभयो। नेपालका लागि चीनका राजदूत हु यांकीले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गर्नुभयो।