राष्ट्रसंघ स्थायी प्रतिनिधिमा राई सर्वसम्मत 

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
संसदीय सुनुवाई समितिले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा सिफारिस हुनुभएका अमृतबहादुर राईको नाम सर्वसम्मतरूपमा अनुमोदन गरेको छ।

सोमबारको समितिको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई सो जिम्मेवारीका लागि सर्वसम्मतरूपमा अनुमोदन गरेको हो। गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकले राईलाई राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो।

उहाँको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी राष्ट्र संघको प्रतिनिधिका लागि अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। राई यसअघि दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो। उहाँको कार्यकाल सकिनुअगावै सरकारले गत कात्तिक २५ गतको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाएको थियो।

समितिको सोमबारको बैठकमा सांसदले उठाएको जवाफ दिँदै राईले ठूला राष्ट्रले हतियार खरिदका लागि गर्ने खर्च गरिबी, अभाव र भोकमरी अन्त्यमा प्रयोग गर्न आफूले राष्ट्र संघमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै साना राष्ट्रको पनि ठूला राष्ट्र सरहको सार्वभौम समानताको अधिकार प्राप्तिमा अन्तर्राष्ट्रिय जगत र अन्य सरोकारवालाको ध्यानाकर्षण गर्ने उहाँले बताउनुभयो।

राष्ट्रसंघीय नियोगका लागि सिफारिस स्थायी प्रतिनिधिलाई एग्रिमो आवश्यक नपर्ने भएकाले राईलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने प्रावधान छ।