१० दिनमा २० नाटक

0
Shares

शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र इसान नेपालको आयोजनामा दशौं राष्ट्रिय बाल नाटक महोत्सव राजधानीमा चलिरहेको छ। माघ ८ गतेदेखि शुरू भएको दश दिने महोत्सवमा २० नाटक मञ्चन हुँदै छन्।

हालसम्म १२ प्रतियोगी नाटक मञ्चन भएको महोत्सवमा बाँकी दिनमा ७ बालनाटक मञ्चन हुनेछन्। महोत्सवमा बालबालिकाको रुचि र अध्ययन, असल अभिभावकत्व, बालबालिकामा हुने हिंसा, बालबालिकामाथि गरिबीको प्रभाव, बालश्रम, छाउप्रथा र अन्य कुरीति, अशिक्षा, यौन दुव्र्यवहार, शिक्षाको महŒवबारेका चेतना र मनोरञ्जनमूलक नाटकहरू मञ्चन भइरहेका छन्। त्यसै गरी शैली थिएटरकै नाटक माटोको फूल अप्रतियोगीरूपमा हरेक दिन मञ्चन भइरहेको छ।

बालबालिकामा केन्द्रित भई १० दिनसम्म चल्ने र करिब ४ सय विद्यार्थी सहभागी हुने महोत्सवमा विभिन्न विषयवस्तुका नाटकले सहभागिता जनाएका छन्।

महोत्सवमा मञ्चन हुने नाटकको मूल्यांकन गर्ने जिम्मेवारी नाटककार पुरु लम्साल, कला समीक्षक स्मृति ढुंगाना र रंगकर्मी सरोज अर्यालले वहन गरिहेका छन्। ‘देशभरबाट राष्ट्रिय बाल नाटक महोत्सवमा सहभागी हुन बालबालिका आउने वातावरण सृजना हुनुपर्छ। राजधानीभन्दा बाहिरबाट पनि राम्रा र अब्बल प्रतिभा यस्तो महोत्सवमा सहभागी हुन उत्साहित छन्।’ –निर्णायक स्मृति ढुंगाना भन्छिन्। प्रतियोगितात्मक महोत्सव भएकाले बालबालिका उत्साहित बनाउन आयोजकले पुरस्कारका विधा पनि छुट्याएको छ।

शैली थिएटरका महोत्सव संयोजक सुवास सुवेदीले मञ्चनकै अविधमा विज्ञहरूको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्यांकन गरी माघ १७ गते समापनको दिन ६ पुरस्कार दिने बताए। उनका अनुसार अभिनय पुरस्कारस्वरूप दुई जनालाई १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट निर्देशनबापत ७ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ। त्यसै गरी प्रोत्साहन पुरस्कार र पब्लिक च्वाइस् पुरस्कार स्वरुप २ जनालाई ५ हजार रुपियाँ प्रदान गरिनेछ। महोत्सव शुभारम्भ समारोहमा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले बालबालिकालाई सृजनात्मक काममा लाग्न यस्ता महोत्सव राम्रो मञ्च भएको चर्चा गरेका थिए।