खण्डहर बन्दै खुंग्रीकोट दरबार

0
Shares

महेश न्यौपाने, रोल्पा ।
सोह्रौ सताव्दीमा राजा फत्तेप्रचण्ड सेनले शासन गरेको रोल्पाको खुंग्रीकोट दरवार संरक्षणको अभावमा दिनानुदिन खण्डहर वन्दै जान थालेको छ । रोल्पाको ऐतिहासिक र सांस्कृतिक पर्यटनकोे संभावना वोके पनि संरक्षणमा चासो नदिदा यसको पहिचान मेटिने अवस्था भएको हो ।
पूर्वी रोल्पाको सुनिल स्मृती गाउँपालिका २ खुंग्रीमा रहेको उक्त दरवार संरक्षणमा गाउँपालिकाले चासो देखाए पनि राजा फत्तेप्रचण्ड सेनका उत्तराधिकारीले उक्त दरवार स्थानीय तहलाई संरक्षण गर्न नदिदा दरवार खण्डहर वन्दै गएको वताइएको छ । दरवारको संरक्षण गर्न सके ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण हुनुका साथै गाउँको विकासमा समेत टेवा पुग्ने स्थानीय चन्द्रा सिंहले वताईन । दरवारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधार रहेकाले यस तर्फ ध्यान दिनु पर्ने सिंहको सुझाव छ ।

राजाको मृत्यु पछि दरवारको देखदेख र संरक्षणमा कसैले चासो नदेखाएको वताईन्छ । विगतमा दरवार संरक्षणका लागी स्थानीयहरुले पटक पटक अनुरोध गर्दा कसैवाट सहयोग नपाएको स्थानीय भरत गिरीले आरोप लगाए । दरवार राज्यको ऐतिहासिक सम्पत्ती भए पनि यसको संरक्षणमा ध्यान नदिनु दुखद हो गिरीले भने । स्थानीय सरकार गठन पछि संरक्षणमा चासो देखाए पनि प्राविधिक समस्या देखिएका कारण वजेट अन्यत्रै खर्च भयो गिरीले भने ।

स्थानीय सरकार गठन पछि धार्मिक तथा ऐतिहासिक स्थलको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिदै खुंग्री दरवारको संरक्षणमा समेत वजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । वजेट विनियोजन गरे पनि दरवारको हकवालाले स्थानीय तहलाई संरक्षणको अनुमती नदिए पछि वजेट अन्यत्रै खर्च गर्नु परेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले गुनासो गरे । दरवार गाउँपालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण सम्पत्ती भएकाले यसको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्छ अध्यक्ष घर्तीले भने ।

दरवारको दीर्घकालिन संरक्षणका लागि हकवाला संग छलफल भईरहेको गाउँपालिकाले जनाएको छ । दरवार भत्कदै जाँदा त्यहाँ प्रयोग भएका महत्वपूर्ण काठपात, ईटा भिंगटी समेत हराउदै जान थालेको वताइएको छ । सो दरवारमा तत्कालिन राजाले प्रयोग गर्ने भाँडाकुडा समेत रहेको छ । ४ कोठे उक्त दरवारमा राजाको सिंहासन, स्नानकक्ष, भान्सा घर लगायतका कोठा रहेको वताईन्छ । दरवार नजिकै राजाले प्रयोग गर्ने पोखरी र मन्दिर समेत रहेको छ । मन्दिरमा दशैको समयमा विशेष पुजाआजा गर्ने चलन अझै कायम रहेको स्थानीयहरुले जानकारी दिए ।

मन्दिरको समग्र विकास हुन सके खुंग्रीलाई पर्यटकीय हवको रुपमा विकास गर्न सकिने पर्यटनका जानकारहरु वताउछन । खुंग्रीको चतुरभुजमा रहेको शिव पंचायन मन्दिर, सोही स्थानमा धार्मिक वनलाई प्याकेजमा विकास गर्न सके खुंग्री पर्यटकीय हव हुन सक्ने पर्यटनका जानकार दिपक डिसीले वताए । रोल्पाको घोडागाउँ र प्यूठानको सारीमा रहेको रातो माटोलाई समेत खुंग्रीको पर्यटन संग जोड्न सकिन्छ डिसीले भने । पवित्र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्धारीलाई ऐतिहासिक दरवार संग जोडेर प्याकेजमा पर्यटनको विकास गर्न सकिने संभावना छ डिसीले भने ।