म्युजिक यात्राले तात्यो बेंसीशहर

0
Shares

लमजुङ, (नेस)
माघको चिसोले कठ्यांग्रिएको बेलामा नेपाल डिस्टिलरीको खुकुरी म्युजिक यात्रा २०७५ लमजुङको सदरमुकाम बेंसीशहरमा केही क्षण भए पनि तातेको छ। देशभर म्युजिक यात्रामा हिँडेको टोली आफ्नो सांगीतिक प्रस्तुतिका लागि बेंसीशहर आइपुगेको हो।

करिब दुई घण्टाको प्रस्तुतिमा उनीहरूले दर्शकलाई निकै मनोरञ्जन प्रदान गरे। बेंसीशहर नगरपालिका–८ को भीमसेनस्थान चोकमा सञ्चालन गरिएको म्युजिक यात्रामा बेंसीशहरका दर्शक निकै झुम्मिएर रमाएका थिए। कार्यक्रममा चर्चित गायक शिव परियार, सुगम पोखरेल र सन्ध्या जोशीले आफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए। गायक शिव परियारको प्रस्तुतिमा दर्शक निकै रमाएका थिए। परियारले पिलायो साथीले, आँसुको अर्थ के था रूवाई जानेलाईलगायत आधा दर्जन गीत प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए। अर्का गायक सुगम पोखरेलको प्रस्तुतिमा पनि दर्शक निकै झुम्मिएका थिए। उनले म यस्तो गीत गाउँछु, भन्छु आज मनका कुरा सुन्छेउ भने तिमी, वर्ष र दिनमा लैलैलगायतका विभिन्न गीत प्रस्तुत गरेका थिए। यसै गरी गायिका सन्ध्या जोशीले केही आफ्ना र केही अन्य गीत पस्कँदै दर्शकको मन जितेकी थिइन्।

भीमसेनस्थान चोकको बीच सडकमै आयोजना गरिएको सांगीतिक प्रस्तुतिले केहीछिन माघको ठन्डीमा बेंसीशहर बजार तातिएको थियो। नेपाल डिस्टिलरीले देशभर खुकुरी म्युजिक यात्रा सञ्चालन गर्ने जनाएको छ। आयोजकका अनुसार लमजुङमा गरिएको कार्यक्रम १७औं शृंखला हो।