सम्हालिन्छ कहिले मन अब फिल्ममा

0
Shares

गायक सुगम पोखरेलको लोकप्रिय गीत सम्हालिन्छ कहिले मनबाट निर्देशक सुदर्शन थापाले फिल्म बनाउने भएका छन्। थापाले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यही गीतको बोलबाट फिल्म बनाउने घोषणा गरे।

फिल्ममा पुजा शर्माका साथमा आकाश श्रेष्ठ र नवनायक सोनम तोपदेनको प्रमुख भूमिका रहनेछ भने लेखन महेश दवाडीको रहनेछ। कार्यक्रममा बोल्दै निर्देशक थापाले फिल्ममा नयाँ तथा पुराना कलाकारसँग एकसाथ काम गर्न पाएकामा खुसी लागेको बताए। ‘प्रायः कलाकारसँग काम गरिसकेको छु। गौरी मल्ल, धिरेन शाक्यजस्ता सिनियर कलाकारसँग भने काम गर्न मन हँुदाहुँदै पनि मिलेको थिएन तर यो फिल्ममा काम गर्ने मौका मिलेको छ’, थापाले कार्यक्रममा भने– ‘सुगम पोखरेलसँग मेरो साथीको नाताको साथै क्रियटिभ सम्बन्ध छ। मैले उहाँको गीतहरूको टाइटल लिएर धेरै फिल्म बनाइसकेको छु। सम्हालिन्छ कहिले मन पनि मलाई मन पर्ने गीत भएकाले यही नाम राख्दै फिल्म बनाउँदै छु।’

नायिका पुजा शर्माले आफूले सधैं सुन्ने गरेको गीत सम्हालिन्छ कहिले मनबाटै नाम राखिएको फिल्ममा अभिनय गर्न पाउँदा निकै खुसी लागेको बताइन्। ‘धेरैले मलाई प्रेमगीतको जस्तै रोल कहिले देख्न पाउँछौं भनेर सोध्नुहुन्छ। सम्हालिन्छ कहिले मनमा मलाई गीतभन्दा अझ राम्रो र फन्नी क्यारेक्टरमा देख्न सक्नुहुन्छ’ –उनले भनिन्। नायक आकाश श्रेष्ठले सुदर्शन थापासँग आफ्नो दोस्रो फिल्म भएको र यस फिल्मबाट आफूले धेरै कुरा सिक्ने आशा राखेको बताए। अर्का नायक सोनम तोपदेनले पहिलो फिल्म सुदर्शनसँग गर्न पाएकामा खुसी लागेको र दर्शकले माया गर्ने विश्वास रहेको बताए। अभिनेता सरोज खनालले पहिले पनि उक्त टीमसँग काम गरेको भए पनि फेरि खेल्ने मौका दिएकामा खुसी लागेको बताए। अभिनेतृ गौरी मल्लले पहिले पनि एउटा फिल्ममा निर्देशक सुदर्शन थापाले खेल्नका लागि अफर गरेको तर आफ्नै कारणले काम गर्न नपाएको र यो टिमसँग काम गर्दा आफूले धेरै कुरा सिक्न पाउने आशा रहेको बताइन्। नायक धिरेन शाक्यले आफूले धेरै समयपछि राम्रो निर्देशकसँग फिल्म खेल्न पाएकामा निकै खुसी लागेको बताए।

एबी इन्टरनेसनलको ब्यानरमा बन्न लागेको फिल्ममा अमित बस्नेतको निर्माण रहनेछ। फिल्मका अन्य कालकार भने फाइनल हुन बाँकी रहेको निर्देशक थापाले बताए। फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, सोनम तापदेन, सुरेश लामा, सुगम पोखरेल, अनु चौधरी, रोहित जंग तथा दीपा लामाको गायन रहनेछ भने कविराज गहतराजको कोरियोग्राफी तथा सौरभ लामाको छायांकन रहनेछ।