मेलबर्न, (एजेन्सी)
टेनिस विश्व वरियताका शीर्ष खेलाडी नोभाक जोकोभिचले सातौं पटक अस्ट्रेलियन ओपन टेनिसको उपाधि जित्दै इतिहास रचेका छन् ।
प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष एकलको फाइनलमा जोकोभिचले एकतर्फी खेलमा विश्व वरीयताको दोस्रो स्थानका राफेल नाडाललाई सोझो सेटमा ६–३,६–२,६–३ ले हराउँदै कीर्तिमानी सातौं पटक उक्त उपाधि उचालेका हुन् । जितसँगै अस्ट्रेलियन ओपन उपाधि सातौं पटक जित्ने उनी विश्वकै पहिला खेलाडी समेत बनेका छन् ।
नाडालले यस संस्करणको फाइनल अघि एउटा पनि सेट गुमाएका थिएनन् । तर फाइनलमा जोकोभिचको चुनौती सामू उनी निरिह साबित बने ।
जोकोभिचले पहिलो सेटको दोस्रो खेलमा नै नाडालको सर्भिस भंग गर्दै २–० ले अग्रता लिएका थिए । त्यसपछि उनले उक्त सेट ६–३ ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेटमा जोकोभिच अझबढी निखारिएको थियो । उक्त सेटमा उनले पाँचौ र सातौं खेलमा नाडालको सर्भिस भंग गर्दै सहजै ६–२ ले जित्दै २–० को अग्रता बनाउन सफल भएका थिए । २–० को अग्रता बनाएको जोकोभिचले तेस्रो सेटको सुरुवातमा नै नाडालको सर्भिस भंग गर्दै ३–१ को अग्रता बनाएका थिए । त्यसपछि भने उनले पछाडि फर्केर हेर्नु परेन ।
सन् २००९ का विजेता नाडाल उक्त म्याच जितेर करिएरमा दोस्रो पटक अस्ट्रेलियन ओपन जित्ने दाउमा थिए । तर जोकोभिचले त्यस्तो हुन दिएनन् । यसअघि यी दुईबीच सन् २०१२ को अस्ट्रेलियन ओपन फाइनलमा भेट भएको थियो । जुन उक्त प्रतियोगिताकै सर्वाधिक लामो अवधिको फाइनल बनेको थियो । ५ घन्टा ५३ मिनेटसम्म चलेको उक्त फाइनलमा जोकोभिचले नै बाजी मारेका थिए ।
जोकोभिचको ग्रान्डस्लाम उपाधि
अस्ट्रेलियन ओपन ः ७ पटक (२००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९)
फ्रेन्च ओपन ः १ पटक (२०१६)
विम्बल्डन ः ४ पटक (२०११, २०१४, २०१५, २०१८)
यूएस ओपन ः ३ पटक (२०११, २०१५, २०१८)











प्रतिक्रिया