आप्रवासी कामदारको निःशुल्क बीमा

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निशुल्क रुपमा बीमा गर्न थालिएको छ । गएको मंसिरदेखि सुरु गरिएको बीमा कार्यक्रममा हालसम्म पाटनमा ७५ जना र दशरथचन्द नगरपालिकामा ४५ जना आप्रवासी कामदारको बीमा छ । आप्रवासी कामदारको रुपमा भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडी र अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो । यस्तै दशरथचन्द नगरपालिकामा भारत जाने आप्रवासी कामदारको निशुल्क बीमा गर्न थालिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । पहिलो चरणमा सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारका सदस्य भारतमा रोजगारीका लागि गईरहेका भए उनीहरुको बीमा गर्न थालिएको हो ।

उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था सिद्धपुर, शिखर बीउ प्रवद्र्धन सहकारी संस्था मुस्याचोर र निङ्गलाशैनी बचत तथा ऋण सहकारी संस्था देहीमाण्डौंमा आवद्ध शेयर सदस्यका परिवारका सदस्यहरुको बीमा गर्न शुरु गरिएको जनाएकोे छ । एसीयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग मिलेर बिमा गर्ने गरिएको हो ।

आप्रवासी कामदारको बीमाको किस्ता रकम रुडेस र नगरपालिकाले तिर्ने गरेको छ । दुर्घटना भएमा, चोटपटक लागेमा, कसैको मृत्यु भएमा बीमाले जोखिम बहन गर्ने बताइएको छ । अन्य देशमा रोजगारी गर्न जाने नागरिकको बीमा गर्ने गरिएको भएपनि भारतमा जानेहरुको बीमा गर्ने नगरिएकाले आफूहरुले यसको शुरुवात गरेको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए ।
अहिले सम्म भारत जाने नागरिकको बीमा गर्ने चलन नभएकाले उतै दुर्घटनामा परेकाहरुलाई समस्या हुने गरेको छ । रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परेका नागरिकलाई सजिलोहोस भन्ने उद्देश्यले बीमा गर्ने योजना अघि ल्याइएको जनाएको छ ।