काठमाडौं ।
बारा, काभ्रे र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
बारा जितपुर सिमरा उपमहानगरपालिका– १६ स्थित पुर्वपश्चिम राजमार्गको पासाहा पुल नजिकै सर्लाहीबाट बारातर्फ आउँदै गरेको बा१झ १६३३ नम्बरको जिप सोही स्थानमा रोकी राखेको हाल नम्बर नखुलेको ट्याक्टरको ट्रेलरमा ठक्कर खाई दुर्घटना हुँदा जिपमा सवार सशस्त्र प्रहरी बल नेपाल हेकुवा १२ नम्बर गण श्रीपुर बारामा कार्यरत कार्यालय प्रमुख काठमाडौं बनस्थली बस्ने सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई, प्रहरी हवल्दार शम्भु गुरुङ र चालक जगतप्रसाद राउतको बीरगंज हेल्थ केयरमा र सशस्त्र प्रहरी हवल्दार संजय यादवको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।
काभ्रे पनौती नगरपालिका– १० पाँगे टोलस्थित बा५ख ४०९१ नम्बरको टिपर सडकबाट खसेर शनिबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपर चालक चितवन पर्सा बस्ने ३० वर्षीय कृष्ण भण्डारीको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सहचालक रामेछाप दोरम्बा गाउँपालिका(५ बस्ने ३० वर्षीय रुद्रबहादुर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धादिङ धुनिवेशी नगरपालिका– ६ चालिसेस्थित पृथ्वी राजमार्गमा आइतबार बिहान हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष घाइते अवस्थामा फेला परेकाले ट्रमा सेन्टर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिएको आशंका गरिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया