हलेसी साइनो स्टारमा ३८ प्रतिभा छनोट

0
Shares

खोटाङ, (नेस)
खोटाङमा एक महिनाअघिदेखि जारी गायन प्रतियोगिता हलेसी साइनो स्टारको जिल्लास्तरीय अडिसनवाट ३८ जना प्रतिभा छनोट भएका छन्। दुई नगर तथा ८ गाउँपालिकाका ११ स्थानमा गरिएको अडिसनबाट छनोट प्रतिभामध्ये जिल्लास्तरको दोस्रो अडिसनका लागि बिहीबार ३८ जना प्रतिभा छनोट गरिएको हो।

जिल्लाको हरेक स्थानीय तह र दिक्तेल रूपाकोट मझुवागढी–१४ को बुइपामा स्थानीयस्तरको अडिसन सम्पन्न गरिएको थियो। स्थानीय तहमा गरिएको अडिसनवाट जिल्लास्तरको पहिलो अडिसनका लागि छनोट भएका १ सय १८ जना प्रतिभाले बुधबार र बिहीबार दिक्तेलबजारको समीक्षालय हलमा जिल्लास्तरको दोस्रो चरणको अडिसनका लागि प्रस्तुति दिएका थिए। गीत–संगीत तथा नृत्य क्षेत्रलाई व्यावसायिकता दिन जिल्लामा स्थापित साइनो कला केन्द्र र हलेसी टाइम्स दैनिक पत्रिकाले संयुक्तरूपमा आयोजना गरेको एकल गायन प्रतियोगिताअन्तर्गतको जिल्लास्तरीय दोस्रो अडिसन समीक्षालय हलमा शुक्रबारबाट नै सञ्चालन गरिएको छ।

जिल्लास्तरीय अडिसनका लागि संगीत प्रशिक्षकसमेत रहेका गायक तथा संगीतकार मण्डल साम्पाङ र पृथ्वी जिम्बा निर्णायक रहेका थिए। प्रतियोगितामा छनोट भएको उत्कृष्ट २० बाट भोटिङ सिस्टम लागू हुनेछ।

प्रतियोगिताको अडिसन गत पुस ९ गतेदेखि शुरू गरिएको थियो। प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ रुपियाँका साथमा ट्रफी, प्रमाणपत्र तथा गीत रेकर्डिङ र एक वर्ष निःशुल्क संगीत कक्षाका अवसर प्राप्त गर्नेछन्। यस्तै, द्वितीय हुनेले नगद ३० हजार रुपियाँको साथमा ट्रफी, प्रमाणपत्र र एक वर्ष निःशुल्क संगीत कक्षा लिन पाउनेछन्। तृतीयका लागि १५ हजार रुपियाँ नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफीको व्यवस्था गरिएको संयोजक प्रमोद श्रेष्ठले बताए।