काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघलाई आज विघटन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने केन्द्रिय कार्यसमिति बैठकले कार्यकाल सकिएको नेविसंघलाई विघटन गर्न लागेको हो । भदौ २ गते नै कार्यकाल सकिएको वर्तमान कार्यसमितिलाई दुई पटक गरी पाँच महिना अवधि थपिएको थियो ।
नेविसंघले थपिएको अवधिमा १२ औँ महाधिवेशन गर्न नसकेपछि कांग्रेसले नयाँ बाटो खुल्ला गर्न लागेको हो । केन्द्रीय समिति बैठकले नेविसंघको महाधिवेशन गर्न तदर्थ समिति बनाउने वा महाधिवेशन आयोजक समिति बनाउने भन्नेमा छलफल गर्नेछ । आयोजक समिति बनाउँदा महाधिवेशन गर्न सहज हुने र विवाद समाधान हुने भएकाले सोही बिषयमा छलफलको तयारी रहेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।
वर्तमान सरकारप्रति रुष्ट बनेको कांग्रेसले आफ्ना भातृ संगठनलाई सडक आन्दोलनका लागि तयार रहन समेत निर्देशन दिने भएको छ ।
बैठकमा सरकारका कामकारबाही प्रति पार्टीले गर्ने विरोधका कार्यक्रम पनि सार्वजनिक हुने नेता विश्वकर्माले बताउनुभयो । महासमितिबाट पारित संशोधित विधानका बिषयमा समेत बैठकमा छलफल हुने कार्यसूची रहेको उहाँको भनाई छ ।











प्रतिक्रिया