मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा वैकल्पिक सडक

0
Shares

नेपाल समाचारपत्र, पर्वत
मध्य पहाडी लोकमार्गअन्तर्गतको पर्वत खण्डमा सडक बिस्तारका लागि दैनिक रुपमा ६ घण्टा बन्द हुन थालेपछि वैकल्पिक सडक खोलिएको छ ।
पर्वतको मोदी–२ देउपुरको पातीचौरदेखि राहाले–टापु–गौंडा हुँदै बेतेनीसम्मको करिब पाँच किलोमिटर सडकको वैकल्पिक ट्रयाक निर्माण गरेको हो ।

सडक स्तरउन्नतीका लागि पर्वतको डिमुवा भीरमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुँदा यात्रु मर्कामा परेपछि वैकल्पिक सडक खोलिएको छ । मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार लोकमार्गको डिमुवामा पहरो फोर्ने काम भइरहेकाले अहिले धेरै समय यात्रु बाटोमै अलपत्र परेपछि गाउँपालिकाले वैकल्पिक सडक खोलेको हो । ‘हामीसँग मर्मतको केही पैसा थियो,’ वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘धेरैतिरबाट वैकल्पिक सडकको माग भएपछि त्यसमै लगानी ग¥यांै ।’ करिब साढे दुई किलोमिटर सडकको पुरानो ट्रयाक मर्मत र नयाँ ट्रयाकमा समेत गरी नौ लाख रुपियाँ खर्च भएको छ ।

वैकल्पिक सडक पातीचौरदेखि राहालेसम्म करिब साढे दुई किलोमिटर पुरानै सडक छ । यो सडक देउपुरकै मैदानसम्म कालोपत्रे हुँदैछ । राहालेबाट उत्तरतर्फ मोडिएर करिब साढे दुई किलोमिटरमा बेतेनी पुग्न सकिन्छ । यो सडक प्रयोग गर्दा यात्रुले मध्यपहाडी लोकमार्गमा हुने घण्टौंको जाममा अलपत्र पर्नु नपर्ने वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

मोदीका स्थानीयबासीका अनुसार कुश्मातर्फबाट जाने सवारीसाधन यो बाटो हुँदै जाँदा लाग्ने समय र लोकमार्गमा लाग्नेभन्दा कम समयमै पुगिन्छ । पोखरातर्फबाट आउने सवारीलाई भने धौलागिरि गेटबाट सिमखेत–मख–लैंच–गौंडा हुँदै पातीचौर पुग्ने अर्को सडक छ । दुवै सडक उपयोग गर्दा कुनै समय सवारी रोक्नुपर्ने अवस्था नरहेको वडाध्यक्ष तिमिल्सिनाले दाबी गर्नुभयो । ‘करीब २० लाख बजेट हुने हो भने दुवै सडकमा बाहै्र महिना बस चल्न सक्ने बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो–‘त्यसका लागि मध्यपहाडी आयोजना र प्रदेश सरकारले ध्यान दिनु¥यो ।’

लोकमार्गको डिमुवादेखि बेतेनीसम्म वर्षात्का बेला पहिरो खसिरहने समस्या भएकाले अरु समयका लागिसमेत यो मार्ग सहज गन्तव्य बन्ने जानकार बताउँछन् । ‘डिमुवादेखि बेतेनीसम्म पहरोबाट जतिबेला पनि ढुं्गा र पहिरो खस्ने समस्या छ,’ स्थानीय गुरुदत्त चापागाईंले भन्नुभयो–‘यो बाटो सहज भए बाढीपहिरोमा कुनै बेला रोकिनु पर्दैन ।’ मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले वैकल्पिक मार्ग स्तरोन्नतिका लागि गाउँपालिकाले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको बताउनुभयो ।

यस बाहेक सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका–८ दोविल्लादेखि पकुवा, ठँलीपोखरी हुँदै स्याङ्जाको फँलबारीतर्फबाट पनि वैकल्पिक बाटो प्रयोग गर्न सकिने स्थानीय सरोकारवालाले सुझाव दिएका थिए ।