एउटै बस्तीमा सय वटा टनेल

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतको महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँका सबै कृषकहरु प्राङ्गारिक तरकारी खेतीमा संलग्न हुँन थालेपछि तरकारी गाउँका रुपमा परिचित हुन थालेको छ ।

गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि अहिले तरकारी गाउँका रुपमा चिनिन थालेको हो । यहाँका हरेक परिवारले वर्षेनि कम्तीमा दुई लाखको तरकारी बिक्री गर्दै आएका छन् ।

गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प्लाष्टिक टनेल छन् । हरेकका टनेलमा लटरम्म तरकारी उत्पादन भइरहेको छ । महाशिला गाउँपालिकामा खानेपानीको समेत अभाव छ । समुद्र सतहदेखि एक हजार ५५० मिटर उचाइमा रहेको काउले गाउँमा मात्रै पानीको राम्रो स्रोत छ । प्राविधिकका अनुसार उचाइका हिसाबले यो गाउँ व्यावसायिक तरकारी उत्पादनका लागि उपयुक्त मानिँदैन तर, उत्तरपूर्वी मोहडामा फैलिएको हुनाले बिहान सबेरदेखि साँझसम्म घाम राम्ररी पर्छ ।

व्यावसायिक तरकारी लगाउनेले हप्तैपिच्छे ठूलो परिमाणमा रासायनिक विषादी र मलको प्रयोग गर्छन् तर यहाँका किसानले भने न रासायनिक मल प्रयोग गर्छन् न विषादी नै ।

चिसोका कारण लाग्ने रोगबाहेक अरु परजीवीले हत्तपत्त आक्रमण नगर्ने कृषकको भनाइ छ । चिसोका कारण लाग्ने ढुसी र डढुवा रोक्न घरेलु प्रविधि अपनाउँछन् । दूधमा पानी घोलेर छर्किंदा गोलभेँडा र आलुमा लाग्ने ढुसी नष्ट हुने किसानले बताए । डढुवालगायतका रोग लागेमा भैँसीको पिसाब र साबुनमा पानी मिसाएर छर्किने गरेको कृषक चिन्तामणी पौडेलले बताउनुभयो ।

“पहिले–पहिले खासै जानकारी भएन”, किसान चिन्तामणि पौडेलले भन्नुभयो, “पछिपछि प्राविधिकले सिकाएपछि घरेलु प्रविधिका उपचार गर्न थालेका हौँ ।” चार वर्षअघिसम्म घरेलु विषादीसमेत प्रयोग नगरेका यहाँका किसानले हिजोआज गाई–भैँसीको मूत्र, दूध र स्थानीयस्तरमा पाइने असुरो, तितेपाती, वनमारालगायतको उपयोग गरेर तरकारीमा लाग्ने रोग नियन्त्रणको विधि अपनाउने गरेका छन् ।

दुई दशक अघि गाउँको अवस्था बेग्लै थियो । गुन्द्रुक पकाएर बिहान बेलुका तरकारीको जोहो गर्थै गाउँले । “म बिहे गरेर आउँदा गुन्द्रुक पकाएर छाक टारिन्थ्यो”, अगुवा किसान एवं महाशिला कृषि विकास उपभोक्ता समूहकी अध्यक्ष शर्मा गुमाकुमारी शर्माले भन्नुभयो, “बिहे गरेको अर्को साल माइतबाट तरकारी खान अलिकति आलु ल्याएकी थिएँ, थोरै बारीको डिलमा लगाएँ, राम्रै फल लागेपछि व्यावसायिक रुपमा शुरु गरियो, त्यसपछि अरु तरकारी रोप्न शुरु ग¥यौँ ।” उहाँले तरकारी लगाउन शुरु गरेपछि यो क्रम विस्तारै गाउँभरि फैलिएको हो ।

रासायनिक मल र विषादीरहित तरकारी उत्पादन भइरहेको यो गाउँलाई महाशिलाले प्राङ्गारिक कृषि पर्यटन गाउँका रुपमा विकास गर्ने तयारी गरेको छ । चालू वर्ष गाउँसभाले घोषणा गरेको एक घर एक टनेल कार्यक्रम पनि यही गाउँमा पालिका भरका किसान डाकेर शुरु गरिएको थियो । “तरकारी खेती सबैतिर हुन्छ”, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर–५ का अध्यक्ष जीवनविक्रम उचैठकुरीले भन्नुभयो, “यहाँजस्तो शुद्ध प्राङ्गारिक अन्त कतै छैन, सबैका लागि अध्ययन गर्न योग्य ठाउँ छ ।”

गाउँपालिकाले प्राङ्गारिक कृषि गाउँ घोषणा गरेर पर्यटक भित्र्याउन गाउँमा घरबासको व्यवस्था गर्ने तयारी गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो ।