हेटौंडा ।
पृथ्वीनारायण शाहको गोर्खाली सेनाले विसं १८१९ माघ १० गते बंगालका नबाब मिरकासिमको गुरगिन खाँ नेतृत्वको सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै मकवानपुरमा विजयोत्सव मनाइएको छ । बंगालको सेनालाई २ सय ५६ वर्षअघि हराएको दिन मकवानपुरगढी दरबारमा भव्यतासाथ विजयोत्सव मनाइएको हो ।
त्यसबेलाका आधुनिक हातहतियारसहित लडाइँमा आएका बंगालका सेनालाई माघ १० गते हराएर विजय हासिल गरिएको दिन विजयोत्सव मनाइएको हो ।
कार्यक्रम प्रारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी दरबारमा नेपालको झण्डोत्तोलनसहित सातै प्रदेश झल्कने नेपालको नक्साको अनावरण गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मकवानपुरगढीको संरक्षण र सुरक्षा गर्नु जरुरी रहेको बताउनुभयो । मकवानपुरगढी गाउँपालिकामा रहेको ऐतिहासिक मकवानपुरगढीको २ सय ५६ औं विजयोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विभिन्न राष्ट्रिय मार्गहरुले जोडिएको गढीको अझै महत्व भएको बताउनुभयो ।
मकवानपुरमा रहेका विभिन्न गढी, ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण गरिनुपर्नेमा उहाँको जोड थियो । नेपालको राष्ट्रिय अखण्डतामा मकवानपुरगढीको ऐतिहासिक महत्व रहेको भन्दै यसको संरक्षण र विकासमा राज्यको योगदान आवश्यक रहेको उहाँको भनाइ थियो । मकवानपुरगढीले शुरु गरेको नेपाल एकीकरण र विजयप्राप्तिले हाल देश सार्वभौम बनेको उहाँले स्मरण गर्नुभयो ।

गढीमा विदेशी फौजलाई पराजित गरेकाले नेपालको एकीकरण अभियान अगाडि बढेको थियो । यसले नेपाल एवम् नेपालीको स्वतन्त्रता र स्वाभिमान अक्षुण्ण रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मकवानपुरगढी नेपाली सेनाको गौरवपूर्ण इतिहास गाँसिएको बताउनुभयो ।
‘नेपालको एकीकरण, स्वाधीनता र भौगोलिक अखण्डता सुदृढ गर्ने महान् अभियान बोकेको पवित्र गढी किल्लाको संरक्षण जरुरी छ,’ राष्ट्रपति भण्डारीले नेपाली सेनाको संगठन निर्माण गर्ने आधार खडा र वीरगाथा गाउने पवित्रस्थल मकवानपुरगढी किल्ला भएको बताउनुभयो ।
विजयप्राप्त गरेको स्थान शिकरकटेरीमा सामान्य कार्यक्रम गरेर पाँच वर्ष अघिदेखि मनाइँदै आएकोमा यस वर्ष भने भव्यरुपमा मनाइएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्दै जलवायु अनुकूलन हुने गरी पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणका काम गर्दा भौगोलिक संवेदनशीलतालाई विचार गर्नुपर्नेमा जोड दिनुभयो ।
दीगो विकासका लागि सोहीअनुसार प्रविधि र सिप प्रयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । उहाँले कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै देशमा रोजगारी सिर्जना गर्न सकिने भएकोले यसतर्फ लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको अवसरमा विजयोत्सव मनाइएको बताउनुभयो । प्रदेश सरकारले पर्यटनलाई विशेष महत्व दिएको भन्दै उहाँले यस वर्ष पर्यटनमार्ग र पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री पौडेलले देश एकीकरणको महत्वपूर्ण हिस्सा ओगटेको मकवानपुरगढी संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजनावद्धढंगले काम गरिने प्रष्ट पार्नुभयो । कार्यक्रममा मकवानपुरगढीका हेटौंडेली इतिहास खोजकर्ता केदारप्रसाद न्यौपाने र बद्रीप्रसाद खतिवडालाई राष्ट्रपति भण्डारीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
अंग्रेज फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास बोकेको मकवानपुरगढीलाई बृहत् विजय स्मारकका रुपमा अगाडि बढाइने भएको छ । संघीय, प्रदेश, स्थानीय सरकार र नेपाली सेनाले मकवानपुरगढीको दरबार, विजय तथा एकीकरणपार्क, सानो गढी र ढुंगेगढीलाई जीर्णोद्वार गरी गढीलाई विजय स्मारकका रुपमा विकास गर्न लागेका हो ।
गुरगिन खाँको नेतृत्वमा आएको फौज शिखरकटेरीतर्फ लागेको देखेर गोर्खाली फौजले अग्लो स्थानबाट ढुंगामुढा गरी बन्दुकसहित माघ ९ गते रातिदेखि १० गतेसम्म सत्रुसँग लडेको सम्मानित इतिहास खोजकर्ता न्यौपानेले बताउनुभयो । मुगल सैनिकका १ हजार ७ सय फौज हताहत भएका थिए । यसबाट गोर्खालीको मनोबल उच्च हुँदा अन्यलाई लखेट्दै सीमा कटाएका थिए ।
बंगालीलाई पराजित गरेपछि उनीहरुबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले औपचारिक सैनिक संगठन निर्माणको अभ्यास सुरु गरेका थिए । नेपाली सेनाको इतिहासमा मकवानपुरगढीको वीरताको ऐतिहासिक पृष्ठभूमि छ । पृथ्वीनारायण शाहले त्यतिबेला श्रीनाथ गण, सबुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिबक्स गण गठन गरेका थिए । ती गण हाल पनि जीवन्त छन् ।
नेपालमा भएका गढीमध्ये सबभन्दा ठूलो गढी मकवानपुरगढी हो । गढी सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र सात फिट चौडाईंको पर्खाल लगाइएको छ । मकवानपुरका राजा लोहाङ सेनले आफ्नो राज्यलाई सुरक्षित गर्न विसं १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहास छ ।
ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि ४० करोड लागतमा पुनर्निर्माणको गुरुयोजना तयार गरिएको छ । नेपाल एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । विसं १२५८ मा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको सँस्कृति झल्कने संग्रहालयसमेत राखिने भएको छ ।
गढी दरबार, किल्ला र मूलढोका निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना नमेटिने किसिमले निर्माण गरिने छ । समुद्री सतहबाट एक हजार १९ मिटर उचाईंमा रहेको मकवानपुरगढीमा रहेका तोपलगायत सामग्री द्वन्द्वकालमा हराएको थियो ।
हेमकर्ण सेनले छोरी गोरखाका राजा पृथ्वीनारायण शाहसँग विवाह गराइदिएका थिए । मकवानपुरे सेन वंशका अन्तिम राजा दिग्वन्धन सेन थिए । लडाइँमा केहरसिंह बस्नेत र वंशराज पाण्डेको नेतृत्वमा युद्ध हुँदा विसं १८१९ भदौ ९ गते गोर्खाली फौजका एक सय जना र चार सय मकवानपुरे सिपाहीले वीरगति प्राप्त गरेको शीलालेखमा उल्लेख छ ।
पराजित भएर मकवानपुरे राजा दिग्वन्धन सेन, उनका परिवार र उनका मन्त्री कनकसिंह बानियाँसमेत भाग्ने क्रममा हेटौंडाबाट ठोरी पुगेका थिए । मकवानपुरगढी किल्लाकै कारण १२ औं शताव्दीमा उक्त ठाउँको नाम ‘मकवानपुर’ रहन गएको किम्वदन्ती पाइन्छ ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश–३ प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, मकवानपुर–२ का सांसद् विरोध खतिवडा, प्रदेश मन्त्रीहरु कैलाश ढुंगेल, शालिकराम जम्कट्टेल, दावा लामा र अरुण नेपाल, प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, विभिन्न मन्त्रालयका सचिव, कार्यालय प्रमुखहरु, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो । शहीद सप्ताहको पहिलो दिन उक्त कार्यक्रम गरिएको हो ।











प्रतिक्रिया