थ्री स्टार र आर्मी फेरि भिड्दै


गोकुल घोरसाइने, बारा

रुस्लान १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच शनिबार सिमरा रंगशालामा प्रतिस्पर्धा हुँदै छ।

उपाधिका लागि यी दुई टोली सिमरा रंगशालामा दोस्र्रोपटक आमनेसामने भएका छन्। थ्री स्टारलाई हराउँदै आर्मीले गत वर्ष दोस्रो पटक सिमरा गोल्डकपको उपाधि जितेको थियो। यसपटक पनि यी दुवै टोलीबीच हुने खेल रोचक भिडन्त हुने अनुमान लगाइएको छ।

आर्मी तेस्रो पटक उपाधि जित्दै प्रतियोगिताको सर्वाधिक सफल टोली बन्ने प्रयासमा मैदानमा उत्रने छ भने थ्रीस्टार आर्मीसँग गत वर्षको हारको बदला लिँदै उपाधि विजेताको सूचीमा सामेल हुने दाउमा छ।

एपीएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपमा शानदार यात्रा शुरू गरेको आर्मीले सेमिफाइनलमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो। थ्री स्टारले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा संकटालाई २–० र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको थियो।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली फाइलन जित्दै सिमरा गोल्डकपको शिल्डमा दोस्रो पटक नाम लेखाउने प्रयासमा रहने बताए। ‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचीमा नाम लेख्नुछ।’ –उनले भने। दुवै टिम जित्नका लागि मैदानमा उत्रने भन्दै उनले आफूहरु आर्मीविरुद्धको खेलमा विशेष तयारीका साथ मैदानमा आउने बताए। आर्मी र थ्री स्टार दुवै टिमका खेलाडीहरुले सिमरामा स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुवै टिमको प्रदर्शनलाई प्रभावित गरेको बताए। ‘आर्मीकै कुरा गर्दा कतिपय देखिनुपर्ने अनुहार टिममा छैनन्, थ्री स्टारको पनि लिगपछि केही खेलाडी बाहिरिएका छन् नयाँ आएकाहरु टिममा एडजस्ट हुन बाँकी छ’, उनले भने– ‘यो हाम्र्रा लागि सुविधा हो।’

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०÷५० हुने बताए। न्यौपाने भन्छन्– ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै उपाधि जित्छ।’ फाइनल पुग्ने दुवै टिम सशक्त हुने भएकाले विशेष रणनीति र मेहनतको जरुरी पर्ने न्यौपानेले बताए। एक हप्ताअघि वीरगन्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपको उपाधि जितेको आर्मीले त्यसको भोलिपल्टै सिमरा गोल्डकप खेलेको स्मरण गर्दै प्रशिक्षक न्यौपानेले टिमका केही खेलाडीलाई मिस गरेको बताए।

उपाधि रक्षाका लागि कडा संघर्ष गर्ने आर्मीका प्रशिक्षक न्यौपानेको भनाइ थियो भने सिमरा गोल्डकमा इतिहास बनाउन आफूहरुले आर्मीविरुद्ध जित्ने रणनीतिका साथ खेल्ने थ्री स्टारका प्रशिक्षक केसीको भनाइ छ। सिमरा गोल्डकपमा यो पटक २ खेल खेल्ने क्रममा अहिलेसम्म गोल नखाएका थ्री स्टारका गोलकिपर एलन न्यौपानेको नाममा सर्वाधिक क्लिनसिट रहेको छ। आर्मीका टंक बस्नेत र थ्री स्टारका फोफाना फोडे २–२ गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा आगाडि छन्।