अन्तर्राष्ट्रिय प्रदर्शनी शुरू

0
Shares

चितवन, (नेस)
चितवनमा कृषि, पोल्ट्री तथा डेरी सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरू भएको छ। चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्रमा शुरू मेलाको प्रदेश नम्बर ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लामाले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणमा लैजान प्रदर्शनीबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। अहिलेकै व्यापारघाटामा देश सञ्चालन हुन नसक्ने भन्दै उनले उत्पादनलाई बढाउन यन्त्रिकरणको प्रयोग आवश्यक रहेको बताउनुभयो। कृषिमा यन्त्रिकरणको प्रयोग गरेर सामूहिक खेतीतर्फ जान आवश्यक रहेको उहाँको भनाइ छ। ‘कृषिलाई उत्पादनमूखी र व्यावसायिकीकरण बनाउन सामूहिक खेती आवश्यक छ,’ मन्त्री लामाले भन्नुभयो–‘सामूहिक खेती गर्ने किसानलाई प्रदेश सरकारले सहयोग गर्छ।’ उहाँले हिजोका दिनमा निर्वाहमुखी रहेको खेती प्रणाली अब व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो। सामूहिक खेती प्रणाली शुरू गरेपछि आम मानिसमा हुने जग्गाको लोभ र बाँझो रहने समस्या अन्त्य हुने उहाँको भनाइ छ। प्रदेश सरकारले सामूहिक खेतीको अवधारणलाई कार्यविधि बनाएर पाससमेत गरेको मन्त्री लामाले बताउनुभयो।

प्रदेश सरकारले सिन्धुलीबाट सामूहिक खेती अभियान शुरू गरेकाले अव अन्य जिल्लामा पनि यो कार्यक्रमलाई विस्तार गरिने उहाँले जानकारी दिनुभयो। मन्त्री लामाले देशलाई समृद्ध बनाउन सरकारले निजी क्षेत्र र सहकारीसंँग सहकार्य गर्ने बताउनुभयो। उहाँले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

१३ गतेसम्म चल्ने प्रदर्शनीमा नेपाल, भारत, चीनलगायतका विभिन्न १८ देशका कृषिसम्बन्धी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहेका छन्। एक लाखभन्दा बढी अवलोकनकर्ताको अपेक्षा गरेको आयोजकले प्रदर्शनीको अवलोकनमा जाने कृषकलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिँचाइ, डेरी सञ्चालन मात्र नभई कृषिका नवीनतम् औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने जनाएको छ।