सुख्खा बन्दरगाहको क्षमता बढाइने

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज

वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहको क्षमता विस्तारका लागि ६२ बिघा जग्गा अधिग्रहण गर्ने काम अघि बढेको छ।

यसका लागि वीरगन्ज महानगर पालिका वडा नं। २५ सिर्सियाको जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको मुआब्जा मूल समितिले मुआब्जासम्बन्धी काम अघि बढाएको हो। प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार पुस ५ गते मूल समितिले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संयोजकत्वमा गठन गरेको उपसमितिले मुआब्जासम्बन्धी प्रारम्भिक काम गरी प्रतिवेदन बुझाएको छ। उपसमितिमा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय, नापी र मालपोतका अधिकारीहरू छन। उपसमितिले विभिन्न निकायबाट सो क्षेत्रमा जग्गाको कारोबार तथा मूल्यांकनका आधारमा प्रतिवेदन बनाएको बताइएको छ। विवरण मगाई अध्ययन विश्लेषण गर्दै मुआब्जाको प्रारम्भिक काम गरिएको छ। ड्राइपोर्ट पश्चिम, पद्मरोड दक्षिण र आइसिपी सडकको पूर्वको ९१९ वटा कित्ताको जग्गा अधिग्रहण गरी बन्दरगाह विस्तार गर्न लागिएको हो। सो क्षेत्रमा सिर्सिया गाउँको ६४ घर, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सिर्सिया स्वास्थ्य चौकी, पोखरी, गुठीको जग्गा तथा खेत छ।

उपसमितिको प्रतिवेदन अनुसार पद्मरोड दायाँबायाँको जग्गालाई ३५ लाख ९५ हजार, आइसिपी सडक छेउको जग्गालाई ४४ लाख ८६ हजार, ग्राभेल सडक आसपासको जग्गालाई १३ लाख ४९ हजार, कच्ची सडक आसपासको जग्गालाई ९ लाख ६७ हजार, बिनाबाटोकोजग्गालाई १ लाख ८० हजार प्रतिकठ्ठाको दरले मूल्यांकन गरिएको छ।

मालपोत, नेपाल राष्ट्र बैंक, वीरगन्ज महानगर वा ऋण लिँंदा गरिएको कारोबार वा ती कार्यालयले विगतमा गरेको मूल्यांकन जोडी तीनले भाग गरेर मूल्यांकन निकालिएको उपसमितिका उपसमितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बताउनुभयो।

मालपोतको मूल्यांकन पुस्तिका अनुसार पद्मरोड आसपासको जग्गाको मूल्यांकन ३० लाख ५० हजार, आइसीपी सडक छेउको ३८ लाख, ग्राभेल सडक छेउको साढे ६ लाख, कच्ची बाटो भएको जग्गाको चार लाख, विनाबाटोको १ लाख ७० हजार प्रतिकठ्ठाको हिसाबले मूल्याकंन गरेको छ भने नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोही पद्मरोडको ५६ लाख, आइसीपी सडकको ७० लाख, ग्राभेल बाटोको २७ लाख, कच्ची बाटोको २१ लाख, बिना बाटोको २ लाख १० हजार मूल्यांकन रहेको जनाइएको छ। त्यस्तै वीरगन्ज महानगरपालिकाको मूल्यांकन अनुसार पद्मरोडको २१ लाख ३५ हजार, आइसीपी रोडको २६ लाख ६० हजार, ग्राभेल रोडको साढे ६ लाख, कच्ची बाटोको ४ लाख र बिना बाटोको १ लाख ७० हजार प्रतिकठ्ठा मूल्यांकन छ।