हुम्ला र डोल्पाको हवाई भाडामा सहुलियत

0
Shares

दीपेन्द्र शर्मा, सुर्खेत
कर्णालीका विकट जिल्ला हुम्ला र डोल्पाका नागरिकहरूका लागि हवाई टिकटको भाडामा सहुलियत दिइने भएको छ। कर्णाली प्रदेशको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयले यातायातको पहँुचबाट टाढा रहेका डोल्पा र हुम्ला जिल्लाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई हवाई टिकटको भाडामा सहुलियत दिने भएको हो।

हुम्ला र डोल्पाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई हवाई टिकटमा सहुलियत दिन कर्णाली प्रदेश सरकारले रु १ करोड बजेट विनियोजन गरेको छ। कर्णाली प्रदेशका यातायातले छुन नसकेका हुम्ला र डोल्पाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई हवाइ भाडामा सहुलियत प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले भाडामा सहुलियत दिइएको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरदेखि हुम्ला र डोल्पा तथा हुम्ला र डोल्पादेखि नेपालगन्ज र सुर्खेत बिमानस्थलसम्म हवाई यात्रा गर्ने यात्रुहरूलाई भाडामा सहुलियत दिइएको मन्त्री बुढाले बताउनुभयो। मन्त्री बुढाका अनुसार डोल्पा र हुम्लाका पूर्णअपाङ्ग तथा जेष्ठ नागरिकलाई प्रतिटिकट रु १ हजारका दरले सहुलियत प्रदान गरिनेछ।

हवाइ यातायात गरेका पूर्णअपाङ्ग तथा जेष्ठ नागरिकलाई प्रदान गर्न विनियोजन गरिएको सहुलियत रकम डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतबाट वितरण गर्ने व्यवस्था गरिएको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले जानकारी दिनुभयो। डोल्पा र हुम्लाबाट नेपालगन्ज र सुर्खेतमा आउनेहरूका लागि प्रदेश वन निर्देशनालय सुर्खेतमार्फत् भुक्तानी दिइने व्यवस्था मिलाइएको सचिव प्रधानले बताउनुभयो।
प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर तथा नेपालगन्ज आउने तथा उक्त विमानस्थलबाट हुम्ला र डोल्पा जानेलाई मात्रै सहुलियत प्रदान गरिने सचिव प्रधानले जानकारी दिनुभयो। पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई सेवा लिन सहज होस भनेर मन्त्रालयले हुम्ला र डोल्पामा डिभिजन वन कार्यालयमा भएका मध्येबाट १ जना कर्मचारीलाई विमानस्थलमा खटाइने उहाँले जानकारी दिनुभयो।
सचिव प्रधानका अनुसार हवाई यात्रा गर्ने पूर्णअपाङ्ग तथा जेष्ठ नागरिकलाई सहुलियत रकम सहज रूपमा प्राप्त गर्न डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतलाई पेश्कीस्वरूप रु १०÷१० लाख दिइएको छ।

सरकारले निमार्ण गरेको पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकरुका लागि हवाई यातायातमा सहुलियतसम्बन्धी कार्यविधि २०७५ जारी गरेपछि हुम्ला र डोल्पाका पूर्णअपाङ्ग तथा जेष्ठ नागरिकले हवाई यातायात प्रयोग गरेबापत प्रतिटिकट रु १ हजार पाउने भएका छन्। हवाई सेवा लिने नागरिकहरूले नागरिकताको प्रतिलिपि, परिचयपत्र र टिकटको फोटोकपि बुझाउनुपर्नेछ। निमार्ण गरिएको कार्यविधिअनुसार कर्णालीमा रहेका ६० वर्षभन्दा माथिकाले जेष्ठ नागरिकहरूले यो सेवा प्राप्त गर्न सक्नेछन्।

कर्णालीको हवाई यातायातलाई सहज बनाउन तथा विमानस्थलहरूमा नियमित उडान गर्नका लागि सरकारले हवाई इन्धनमा सहुलियत दिनका लागि रु १ करोड विनियोजन गरिएको सचिव प्रधानले बताउनुभयो। यसका लागि प्रदेशभित्रका विमानस्थलमा उडान गर्ने हवाई सेवाप्रदायक संस्थासँग आवश्यक छलफल तथा समन्वय भइरहेको बताउनुभयो।