विकासका लागि उत्पादन आवश्यक

0
Shares

नेपाल समाचारपत्र, दोलखा
तीन नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले विकासको अर्थ उत्पादन र जनताको आवश्यकताअनुसारको निर्माण भएको बताएका छन्। दोलखा भीमेश्वर नगरपालिकाको २३औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्री पौडेलले दोलखा तीन नम्बर प्रदेशको तेस्रो र नेपालको चौथो पर्यटकीय गन्तव्य रहेको बताए।

मुख्यमन्त्री पौडेलले विकासमा जनसहभागिता अत्यन्त आवश्यक रहेकाले जनताको आवश्यकतासँग जोडेर विकासका गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले भने– ‘विकास र समृद्धिका लागि उत्पादन मुख्य कुरा हो त्यसैले आर्थिक उन्नतिका लागि कृषि उत्पादन र पर्यटकीय केन्द्रको पहिचान तथा विकास र प्रवद्धनलाई संगसंगै अगाडि बढाउनुपर्छ।

मुख्यमन्त्री पौडेलले दोलखामा के छ भन्दा पनि के छैन भन्ने अवस्था रहेको उल्लेख गर्दै दोलखाको सम्भाव्यता पहिल्याएर त्यसको विकास र व्यवस्थापन गर्दै आर्थिक वृद्धिमा उपयोग गर्ने बताए। मुख्यमन्त्री पौडेलले आफू त्यसैका लागि पनि दोलखाको भ्रमणमा आएको बताए। मुख्यमन्त्री पौडेलले दोलखाको पर्यटकीय नगरी जिरीमा ताल निर्माणको सम्भाव्यता हेरेर त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए। मुख्यमन्त्री पौडेलले भीमेश्वर नगरपालिकामा विकासको धेरै सम्भाव्यता रहेको र यसले सिंगो देशकै आर्थिक विकासमा योगदान गर्न सक्ने बताए।

कार्यक्रमका सभापति भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भीमेश्वर नगरपालिकालाई समुन्नत नगर बनाउन शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासमा योजनावद्ध ढंगले काम शुरु गरिएको उल्लेख गर्दै दोलखालाई नेपालको एक नम्बर पर्यटकीय गन्तव्य बनाउने गरी नगरपालिकाले काम गरिरहेको बताए।

२३औं स्थापना दिवस कार्यक्रममा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रतिनिधिसभा सदस्यहरू पार्वत गुरुङ र शान्ति पाख्रीन, ३ नम्बर प्रदेशका मुख्य सचेतक रामेश्वर फुयाँल, प्रदेश सांसद विशाल खड्का, नेकपा नेता काशिनाथ अधिकारी, ३ नम्बर प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, तामाकोसी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल, नेकपा दोलखाका नेता कुमार लगुन, नेपाली कांग्रेस दोलखाका नेता केशव चौलागाई, राप्रपा दोलखाका अधयक्ष नवराज श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामकृष्ण उप्रेतीले मन्तव्य व्यक्त गरेका थिए।

पत्रकारहरू सम्मानित
नगरपालिकाको २३औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा नेपाल समाचारपत्रका दोलखा संवाददाता चिरञ्जीवी मास्के, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, अन्नपूर्ण पोस्ट दैनिकका दोलखा संवाददाता रविन्द्र गौतम र गोरखापत्र दैनिकका दोलखा संवाददाता बाबुराम शर्मालाई सम्मान गरेको छ।

त्यसैगरी वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र उत्कृष्ठ कार्यसम्पादन गर्ने भीमेश्वर नगरपालिकाको कर्मचारीहरूलाई पनि सम्मान गरेको छ।