कृष्णसेनको जन्मघरमा प्रादेशिक सञ्चार सम्मेलन

0
Shares

‘मिडियामा अदृश्य लगानी प्रेस स्वन्त्रताको चुनौती’
नरेन्द्र केसी, घोराही, दाङ
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडिया बलियो नभए लोकतन्त्र कमजोर हुने भएकाले प्रेस स्वतन्त्रताको सुनिश्चित गर्नु राज्यको पनि दायित्व भएको बताउनुभएको छ।

दाङको भालुवाङसँग जोडिएको अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ जलुकेस्थित शहीद पत्रकार कृष्णसेन इच्छुकको भग्नावशेष घरअगाडि नेपाल पत्रकार महासंघ प्रदेश समिति र अर्घाखाँची शाखाले गरेको प्रादेशिक सञ्चार सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

अहिलेको मिडिया क्षेत्रको ठूलो समस्या भनेको सम्पादकीय स्वतन्त्रताको हनन् भएको औल्याउँदै मुख्यमन्त्री पोखरेलले अदृश्य स्रोतबाट कमाएको पैसा जोगाउन मिडियामा लगानी गर्ने र नाफा कमाउने नाममा सूचना लुकाउने कामले सम्पादकीय स्वतन्त्रता हनन् भइरहेको बताउनुभयो। ‘हरेक क्षेत्रमा शुद्धिकरणको आवश्यकता परेजस्तै मिडिया क्षेत्रमा पनि शुद्धिकरण किन नगर्ने रु’ उहाँले पत्रकार महासंघलाई प्रश्न गर्दै भन्नुभयो– ‘क्रोनी क्यापिटालिज्मको प्रभावमा नेपाली मिडियो पर्दैन। यसमा महासंघले गम्भीर अध्ययन शुरु गरोस्।’

अदृश्य स्रोतबाट आएको सम्पत्ति मिडियामा लगाउने र राजनीतिकर्मीसँग लड्न खोज्ने प्रवृत्तिले बेलाबेलामा राजनीतिकर्मी र मिडियाबीच असमझदारी देखिन पुग्छ, त्यसलाई नै प्रेस स्वतन्त्रता हनन् भनेर गलत अर्थ लगाइन्छ।’ विज्ञापन पाउने नाममा महŒवपूर्ण सूचना लुकाउने प्रवृत्ति पनि ठूलो समस्याका रूपमा देखिएको दावी गर्दै उहाँले यो पनि सञ्चार क्षेत्रले नै सुधार गर्नुपर्ने बताउनुभयो।
‘अहिलेसम्म हामीले प्राप्त गरेका राजनीतिक अधिकारको मुख्य गुदी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हो’, उहाँले भन्नुभयो– ‘त्यसैले यो साझा मिसन हो, सरकार र दलहरूले स्वतन्त्रता हनन् गर्न खोजेको र पत्रकारले जोगाउन खोजेको जस्तो देखिनु सही हुँदैन, प्रेस स्वतन्त्रता राजनीतिकर्मी र सञ्चारकर्मीको साझा मिसन हो।’

देवानी र फौजदारी संहिता गणतन्त्र यताका सबै सरकारको पालामा छलफल भएको, देउवाको पालामा जारी भएको र ओलीको पालामा लागु भएको खुलाउँदै मुख्यमन्त्री पोखरेलले यसमा देखिएका कतिपय त्रुटिलाई लिएर बामपन्थी सरकारले प्रेस स्वतन्त्रता हनन् गर्न खोज्यो भन्नु गलत रहेको टिप्पणी गर्नुभयो। ‘सबै मिलेर गरेको गल्ती चाहिँ गल्ती होइन भन्नुहुँदैन, गल्ती सच्याउनुपर्छ तर यसलाई एउटा मात्र सरकारसँग जोडेर विषयान्तर गर्नु राम्रो हुँदैन’ –उहाँले भन्नुभयो।