सलिम अन्सारी, प्युठान
सेतै फुलेको दाह्री, चाउरी परेको अशक्त शरीर, आँखाको कमजोरी, कानै नसुन्ने समस्या अनि हिँड्डुल गर्दा लाठीको सहारा लिनुपर्ने बाध्यता। ऐरावती गाउँपालिका–६ बिजुलीका ८० वर्षीया खगे राना दम्पतीका उत्तराधिकारी कोही छैनन्। न छोरा छन् न छोरी। आफ्ना सन्तान छैनन्। बुढेसकालमा सहारा चाहिन्थ्यो, त्यसैले बाँच्ने सहाराको खोजी हुन थाल्यो। भाइको छोरा थियो उसैलाई उत्तराधिकारी बनाउने सोच उनीहरूले गरे। बाँचुन्जेल हेरचाह मात्रै होइन, मरेपछि पनि तीर्थ–व्रत गर्ला भनेर उनीहरूले आफ्नै भाइका छोरा डम्मरबहादुर रानालाई नै रोजे।
आफूहरूको सेखपछि उसले नै खाओस् भनेर बल्लतल्ल जोडेको २१ रोपनी १५ आना जग्गासमेत उनै डम्मरबहादुरको नाममा पास गरिदिए। आफ्नै सन्तानको त हुन्न भर अझ पराया भाइकै छोराले उल्टाइदियो ती वृद्धा दम्पतीको आश, दिनुसम्मको दुःख दिएर। आखिर कमजोर शरीरले भतिजाको आश ग¥यो, तर भाइकै छोरा पनि यति बिरानो बन्यो कि वृद्ध दम्पतीको घाउमा मलम होइन, नुन छर्किदियो। अन्ततः डम्मरबहादुरले सबै सम्पत्ति हत्याए र ती वृद्ध काकाकाकीलाई हेलचेक्र्याँइ गर्न थाले ।
दुर्वव्यहार र अपहेलना गर्न थाले। ‘बुढेसकालमा रेखदेख गर्लान् भनेर भएभरको सम्पत्ति उसकै नाममा गरिदियौं’, पीडित खगे रानाले भने– ‘सधैं अपमान र हेला मात्रै सहनुप¥यो।’ दशकअघि सबथोक सम्पत्ति मालपोतमा गएर उनै डम्मरलाई बुझाएको वृद्ध खगेले सुनाए। सबै जग्गाजमिन कुम्लाएपछि घरबाट निकालिदिएको उनीहरू बताउँछन्। हाल उनीहरू आफैंले नयाँ घर बनाएर अलग्गै बसिरहेका छन्। ‘अहिले छोराले दुश्मनझैं व्यवहार गरिराखेको छ’, खगेले गहभरी आँसु पोख्दै भने– ‘अहिले ऊसँग बोलचालसमेत छैन। हामी छुट्टै बसिरहेका छौं।’
उमेरले नेटो काटेका ती दम्पतीलाई जीवनको अन्तिम अवस्थामा घरबाट निकालेपछि अहिले विजोग भएको छ।
भाइको छोराले पुस्तेनी घर र जग्गा आफ्नो नाममा गराएर घरबाट निकालेपछि उनी न्यायको गुहार माग्दै जिल्ला प्रशासन कार्यालय प्युठान पुगे, तर पुग्नुमात्रै भयो। घरजग्गाको विषय गाउँपालिकाले हेर्ने भन्दै प्रशासनले उनीहरूलाई घर फर्काइदियो। आफ्नो घरजग्गा अर्कैको नाउमा पास दिएपछि बेसहारा जस्तै बनेका खगे रानाले छोराविरुद्ध ऐरावती गाउँपालिकामा निवेदन दर्ता गराएका छन्।
घरबारविहीन भई जेनतेन गुजारा चलाउँदै आएका उनीहरूले सहनै नसकेपछि डम्मरबाट न्याय दिलाइदिन गाउँपालिकालाई गुहार्न पुगेको बताए।
आफूले पाउने वृद्धभत्ताबाट जेनतेन गर्जो टार्दै आएको र खानबस्न अरूको मुख ताक्नुपर्ने अवस्था भएकाले न्याय दिलाइदिन उनीहरूले सबैसँग आग्रह गर्दै आएका छन्।
दुवैथरिको कुरा सुनेपछि फैसला सुनाइने गाउँपालिकाका उपाअध्यक्ष एवं न्यायिक समितिका संयोजक बुद्धबहादुर बस्नेतले जानकारी दिए। पीडितले जग्गा फिर्ता पाऊँ भनी निवेदन दिएको बस्नेतले बताए।











प्रतिक्रिया