रुकुम, (नेस)
रुकुम पश्चिममा किवी खेतीका लागि बजेट छुट्याइएको छ। कृषि मन्त्रालयको फलफूल विस्तार कार्यक्रमअन्तर्गत रुकुम पश्चिममा किवी खेती गर्नका लागि रकम छुट्याइएको हो। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले थालेको किवी खेतीलाई जिल्लाका अन्य स्थानीय तहमा पनि विस्तार गरिने लक्ष्यअनुरूप बजेट छुट्याइएको हो।
किवी खेतीका लागि केही सहकारी संस्था छनोट गरिएको छ। आठबीसकोट नगरपालिकाको ठूलीभेरी साना किसान सहकारीलाई ५२ लाख, त्रिवेणी गाउँपालिकाको ट्रेडिङ एन्ड सप्लायर्सलाई ५२ लाख, त्रिवेणी गाउँपालिकाकै मनशान्ति बहुउद्देश्यीय फलफूल नर्सरीलाई ५२ लाख बाँफिकोट गाउँपालिकाको झारमारे सहकारीलाई ५२ लाख र सानीभेरी गाउँपालिकाको सुन्तला तथा मसलाबाली सहकारीलाई ४० लाख बजेट छुट्याइएको जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले जानकारी दिनुभयो।
रुकुम पश्चिम किवी खेतीको मुख्य क्षेत्र बनाउनका लागि रुकुम पश्चिममा स्थानीय सरकार सक्रिय भएका हुन्। आठबीसकोट नगरपालिकाले किवी खेतीको शुरुआत गरिसकेको छ। नगरप्रमुख प्रमुख गोर्खबहादुर केसीका अनुसार चार वर्षपछि नगरपालिकाका विभिन्न ठाउँमा लगाइएकोे किवी फल्नेछ। त्यसका लागि २० लाख किलो किवी फल्ने गरी योजना बनाइएको छ। त्यसका लागि यसै वर्ष नगरपालिकाले ५० हजार बोट किवी किसानलाई दिँदैछ। जिल्ला समन्वय समितिका प्रमुख शर्माका अनुसार आगामी पाँच वर्षमा झन्डै १ अर्बको आम्दानी हुने लक्ष्य लिइएको छ।











प्रतिक्रिया