छात्रछात्रालाई व्यवसायीको सहयोग

0
Shares

बारा, (नेस)
दुई व्यवसायीले आफू अध्ययन गरेको एक विद्यालयका विद्यार्थीका लागि १ सय थान ट्र्याक सुट सहयोग गरेका छन्। फिटवेल गारमेन्ट उद्योग काठमाडौंका सञ्चालक निजगढ नगरपालिका–७ निवासी मनोज भारती र सोही ठाउँका कान्तिपुर भेट सञ्चालक ऋषि बडालले निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माविको कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने गरिब तथा विपन्न परिवारका १ सय जना विद्यार्थीलाई १÷१ थान ट्र्याक सुट सहयोग गरेका छन्।

विद्यालयको ४५औं अभिभावक दिवसको अवसर पारेर बिहीबार भारती र बडालको तर्फबाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निजगढका अध्यक्ष सुदर्शन कोइरालाले विद्यालयका प्रधानाध्यापक रामकुमार शर्मामार्फत करिब ८० हजार रुपियाँ मूल्यका सो न्यानो कपडा हस्तान्तरण गरेका थिए। न्यानो कपडा सहयोग पाएपछि आफूहरू खुसी भएको विद्यालयको कक्षा ८ मा अध्ययनरत किरण माझीले बताए।

सोही विद्यालयबाट विसं २०४७ सालमा एसएलसी उत्तीर्ण भारती र बडालले आफू अध्ययन गरेको विद्यालयप्रतिको उत्तरदायित्व पूरा गर्न विद्यार्थीलाई सहयोग गरेको बताएका छन्। विद्यालयको अध्ययनपछि व्यवसाय थालेका दुवै यसअघि पनि विद्यालय र आफ्नो गाउँको निम्ति पटक–पटक सहयोग उपलब्ध गराउँदै आएका छन्। आफू पढेको विद्यालयका बालबालिकाका लागि केहि सहयोग गर्न पाउँदा खुसीका साथै आत्मसन्तुष्टि समेत मिलेको फिटवेल गारमेन्ट उद्योगका सञ्चालक भारतीको भनाइ छ।