नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा ४४ रोपनी जग्गा कीर्ते गरी बेचविखन गरेको अभियोगमा चार जना जेल चलान भएका छन्। जिल्ला अदालतको आदेशले उनीहरूलाई पुर्पक्षका लागि जेल पठाइएको हो।
जेल जानेमा बेंसीशहर नगरपालिका–३ दनाई गाउँमा स्थायी बसोबास भएका ४८ वर्षीय काजीराम दमै, सोही नगरपालिका–८ अस्पताल टोलमा स्थायी बसोबास भएका वसन्त बराल, सोही नगरपालिका–४ पुरानकोटकी स्थायी बासिन्दा रहेकी ३७ वर्षीया हरिमाया गुरुङ र सोही नगरपालिका–९ बाख्रेजगतमा स्थायी बसोबास गर्ने मिलन गुरुङ रहेको जिल्ला अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताउनुभयो। उहाँका अनुसार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उनीहरूलाई पुर्पक्षका लागि जेल पठाएको हो।
सोही मुद्दामा फरार हुनेमा नुवाकोटको साविक सिग्रे गाविस–६ मा स्थायी बसोबास भएका २६ वर्षीय दीपक तामाङ र काभ्रेको सिपली चिलाउने गाविस–१ मा स्थायी बसोबास भएका २६ वर्षीय बुद्ध लामा रहेका प्रहरी नायब उपरीक्षक यादव ढकालले बताउनुभयो। उहाँका अनुसार जेल जाने बेंसीशहर–४ पुरानकोटकी हरिमाया गुरुङ जग्गा धनी सोही स्थान निवासी ८१ वर्षीय मनमाया गुरूङकी छोरीपट्टिकी नातिनी हुन्। उनीहरू छ जना मिलेर पुरानकोटकै विभिन्न स्थानमा मनमाया गुरूङका नाउँमा रहेको जग्गा कीर्ते गरी बिक्री गरेको भेटिएको ढकाल बताउनुहुन्छ।
उनीहरूले बेंसीशहर नगरपालिका–४ नं वडा कार्यालयको मिति २०७५ साल मंसिर २० गते पुसको ८ गते र १२ गते घरबाटोको कीर्ते सिफारिस गरी कुल ४४–९–९–३ क्षेत्रफलको जग्गा कीर्ते गरी बिक्री गरेको पाइएको प्रनाउ ढकालले बताउनुभयो। उहाँका अनुसार पछिल्लो पटक ३२ रोपनी जग्गा त्यसरी बिक्री गर्दै गर्दा छिमेकले थाहा पाएर सो रोक्ने काम भयो र अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिने काम गरेको थियो। अनुसन्धानका क्रममा ४४ रोपनी जग्गा कीर्ते गरेको भेटिएको ढकाल जानकारी दिनुभयो। उहाँका अनुसार बेंसीशहर नगरपालिका–४ का वडाध्यक्ष लालवीरको उजुरीले नेपाल सरकार वादी हुने गरी मुद्दा दायर गरिएको छ।
‘मनमायाका पति र छोरा छैनन्, छोरीहरू पनि सबैको विवाह भइसकेको छ। गाउँमै विवाह गरेर हजुरआमाको समेत रेखदेख गर्दै आएकी हरिमाया गुरुङले किराना पसल समेत सञ्चालन गरेकी थिइन्। उनले पसल चलाउन पैसाको अभाव रहेको हजुरआमासँग गुनासो गरेपछि बैंकमा धितो राखेर ऋण लिनका लागि मञ्जुरीनामामा ठूलीआमाले ल्याप्चे लगाइदिनुभएको रहेछ’ –नेपाली कांग्रेस क्षेत्र नं–२ का सभापति रहनुभएका मनमायाका भतिजा वृषराज गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो– ‘उनीहरूले पछिल्लो लटमा बिक्री गर्दै गरेको ३२ रोपनी जग्गा बिक्री गर्दै गरेको सुइको पाएपछि मालपोत कार्यालयमा रोक्न सफल भइयो। पछि बुझ्न जाँदा त ४४ रोपनी भ्याइसकेका रहेछन्।’











प्रतिक्रिया