दुर्घटना घटाउन चालकको स्वास्थ्य परीक्षण

0
Shares

कपिलवस्तु, (नेस)
सवारी दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चालकको स्वास्थ्य परीक्षण गराएको छ।

‘स्वच्छ चालक, सफल यात्रा’ भन्ने मूल नारासहित सवारी दुर्घटना न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण अभियान थालेको हो। शारीरिक तथा मानसिकरूपमा स्वच्छ नभएको चालकले यात्रा गन्तव्यसम्म पु¥याउन नसक्ने निष्कर्षसहित जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले यस्तो अभियान शुरू गरेको प्रहरी निरीक्षक बाबुराजा पन्तले जानकारी दिनुभयो। साताको दुई दिन आइतबार र बिहीबार चालकको स्वास्थ्य परीक्षण हुने गरेको कार्यालय प्रमुख पन्तले बताउनुभयो।

प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीको सन्धिखर्क सडकखण्डअन्तर्गत गोरूसिंगेमा चालकको ब्लड प्रेसर सन्तुलन छ कि छैन थाहा पाउनका लागि चालकको स्वास्थ्य जाँच गरिएको कार्यालय प्रमुख पन्तले बताउनुभयो। जयनगर स्वास्थ्य चौकी बुद्धभूमि नगरपालिका–२ गोरूसिंगेसँग समन्वय गरी स्वास्थ्य शिविर सञ्चालन गरिएकामा ३० जना सार्वजनिक यात्रुबाहक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो।

सवारी दुर्घटना घटाउन चालकलाई सडक प्रयोग गर्दा तथा सवारीसाधन चलाउँदा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण समेत दिँदै आएको पन्तले बताउनुभयो। स्वास्थ्य रिपोर्ट अनुसार अधिकांश चालकमा उच्च रक्तचाप रहेको पाइएको ट्राफिक प्रहरी नारायण घिमिरेले जनाउनुभयो।