बैतडी, (नेस)
बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेका दशरथचन्द माविमा स्थापना गरिएको शिक्षक–विद्यार्थी हितकोषबाट विद्यार्थीलाई पोसाक वितरण गर्ने गरिएको छ।
उक्त विद्यालयमा कार्यरत शिक्षकले आफ्नो तलबबाट मासिक १०० रुपियाँ जम्मा गरेर शिक्षक–विद्यार्थी हितकोष स्थापना गर्ने गरेका हुन्। दशरथचन्द मावि सुनदरखालीमा २० जना शिक्षक कार्यरत रहेकामा मासिक २ हजार कोषमा जम्मा हुने गरेको छ।
शिक्षक–विद्यार्थी हितकोषमा जम्मा भएको रकमले विद्यालयमा अध्ययरत गरिब तथा असहाय ४८ विद्यार्थीलाई हरेक वर्ष पोसाक वितरण गर्ने गरिएको विद्यालयमा प्रधानाध्यापक तेजप्रकाश भट्टले जानकारी दिनुभयो।
गत वर्ष स्थापना गरिएको हितबाट यो वर्ष २ विद्यार्थीलाई पूरै पोसाक र ४६ जनालाई आवश्यकताअनुसार जुत्ता तथा स्वीटर वितरण गरिएको उहाँले बताउनुभयो। विद्यालयको वार्षिकोत्सव समारोहमा उनीहरूलाई पोसाक वितरण गर्ने गरिएको छ।
गरिब तथा असहाय विद्यार्थीको घरको आर्थिक अवस्था कमजोरले किन्न नसिक्ने भएकाले विद्यालयले उनीहरूलाई पोसाक दिने गरेको हो।
विसं २०१३ सालमा स्थापना भएको दशरथचन्द मावि सुन्दरखालीमा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ। उक्त विद्यालयका हाल ३ सय २७ विद्यार्थी अध्ययनरत रहेका छन्।











प्रतिक्रिया